१४ असार २०८३, आइतबार

युद्धविरामपछि राष्ट्रका नाममा मोदीको सम्बोधन- भारतले पाकिस्तानको मुटुमा प्रहार गर्‍यो

भारतको स्पष्ट सन्देश- पाकिस्तान यदि बाँच्न चाहन्छ भने आतंककारी पूर्वाधार नष्ट गर्नुपर्छ
बैशाख ३०, २०८२
काठमाडौं
युद्धविरामपछि राष्ट्रका नाममा मोदीको सम्बोधन- भारतले पाकिस्तानको मुटुमा प्रहार गर्‍यो

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले वीर सैनिकहरूले अपरेशन सिन्दूरका उद्देश्यहरू प्राप्त गर्न असीम साहस प्रदर्शन गरेको उनले बताएका छन् । पाकिस्तानसँग भएको युद्धविराम सहमतिपछि सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले सेनाको बहादुरी र साहसलाई नमन गरे ।  'म उनीहरूको बहादुरी, साहस र पराक्रमलाई नमन गर्दछु । यो वीरता देशका हरेक आमा, हरेक दिदीबहिनी र हरेक चेलीबेटीलाई समर्पित गर्दछु,' उनले भनेका छन् । 

पहलगाम आतङ्कवादी हमलापछि सम्पूर्ण राष्ट्र एकजुट भएर आतङ्कवादविरुद्ध कडा कारबाहीको लागि उभिएको उनले बताए । आतङ्ककारीहरूलाई सखाप पार्न सरकारले भारतीय सेनालाइ पूर्ण स्वतन्त्रता दिएको पनि उनले स्मरण गरेका छन् । 'अप्रिल २२ मा पहलगाममा आतङ्ककारीहरूले देखाएको बर्बरताले सम्पूर्ण देश र विश्वलाई स्तब्ध बनाएको थियो । धर्मको आधारमा निर्दोष नागरिकहरूको परिवार र उनीहरूका बच्चाहरूको सामु निर्दयी हत्या आतङ्क र क्रूरताको एक विभत्स अनुहार थियो,' सम्बोधनका क्रममा मोदीले भने, 'यो देशको सद्भाव र एकता तोड्ने घृणित प्रयास पनि थियो । यो आतङ्कवादी हमलापछि सम्पूर्ण राष्ट्र एकजुट भएर आतङ्कवादविरुद्ध कडा कारबाहीको लागि उभिए । आतङ्ककारीहरूलाई सखाप पार्न हामीले भारतीय सेनालाइ पूर्ण स्वतन्त्रता दियौं । र आज हरेक आतङ्ककारी, हरेक आतङ्कवादी संगठनलाई हाम्रा दिदीबहिनी र छोरीचेलीहरूको सिन्दूर मेटाउदाको परिणाम के हुन्छ थाहा भएको छ ।'

अपरेशन सिन्दूर केवल एउटा नाम मात्र नभई देशका करोडौं जनताको भावनाको प्रतिबिम्ब भएको उनले बताए । अपरेशन सिन्दुरले आतङ्कवादी संगठनहरूको भवन मात्र नभएर उनीहरूको साहस पनि नराम्रोसँग डगमगाएको मोदीको भनाइ छ । 'अपरेशन सिन्दूर केवल एउटा नाम मात्र होइन, यो देशका करोडौं जनताको भावनाको प्रतिबिम्ब हो । अपरेशन ‘सिन्दूर’ न्यायप्रतिको हाम्रो अखण्ड प्रतिज्ञा हो । भारतीय सेनाले पाकिस्तानमा रहेका आतङ्कवादी लुक्ने ठाउँहरू र उनीहरूका तालिम केन्द्रहरूमा बडो सटीकताका साथ आक्रमण गर्‍यो,' उनले भने, 'भारतले यति ठूलो निर्णय लिन सक्छ भनेर आतङ्ककारीहरूले कहिल्यै कल्पना गरेका थिएनन् । जब भारतको मिसाइल र ड्रोनले पाकिस्तानमा रहेका आतङ्कवादी अड्डाहरूमा आक्रमण गर्‍यो, आतङ्कवादी संगठनहरूको भवन मात्र नभएर उनीहरूको साहस पनि नराम्रोसँग डगमगाएको थियो ।'

आतङ्ककारीहरूले दिदीबहिनीहरूको सिन्दूर मेटाएको भन्दै भारतले उनीहरूको मुख्यालय ध्वस्त पारेर प्रतिक्रिया दिएको मोदीले बताए । 'आतङ्ककारीहरूले हाम्रा दिदीबहिनीहरूको सिन्दूर मेटाएका थिए र भारतले उनीहरूको आतङ्कवादी मुख्यालय ध्वस्त पारेर प्रतिक्रिया दियो । भारतद्वारा गरिएका यी आक्रमणहरूमा १०० भन्दा बढी खतरनाक आतङ्कवादीहरू मारिएका छन् । धेरै आतङ्कवादी नेताहरू विगत साढे दुई–तीन दशकदेखि पाकिस्तानमा स्वतन्त्र रूपमा घुमिरहेका थिए जसले भारतविरुद्ध षड्यन्त्र रच्थे । भारतले एकै प्रहारमा उनीहरूलाई मारिदियो,' मोदीले भने ।

आतङ्कवादविरुद्ध भारतको हमलालाई समर्थन गर्नुको सट्टा पाकिस्तानले भारतमाथि नै आक्रमण गरेको उनले आरोप लगाए । तर, भारतको बलियो वायु रक्षा प्रणालीले तिनीहरूलाई आकाशमै नष्ट पारिदिएको मोदीको भनाइ थियो । 'आतङ्कवादविरुद्ध भारतको हमलालाई समर्थन गर्नुको सट्टा पाकिस्तानले भारतमाथि नै आक्रमण गर्न थाल्यो । पाकिस्तानले हाम्रा विद्यालय, कलेज, गुरुद्वारा, मन्दिर र सर्वसाधारणहरूको घरलाई निशाना बनायो । पाकिस्तानले हाम्रो सैन्य अड्डालाई निशाना बनायो,' उनले भनेका छन्, 'तर यस कार्यमा पाकिस्तानको आफ्नै पर्दाफास भयो । विश्वले देख्यो की कसरी पाकिस्तानका ड्रोन र मिसाइलहरू भारतको अगाडि पराल जस्तै खसे । भारतको बलियो वायु रक्षा प्रणालीले तिनीहरूलाई आकाशमै नष्ट पारिदियो । पाकिस्तानले सीमामा आक्रमणको तयारी गरेको थियो तर, भारतले पाकिस्तानको मुटुमा प्रहार गर्‍यो । भारतका ड्रोन र मिसाइलहरूले सटीकताका साथ आक्रमण गरे ।' 

भारतले पहिलो तीन दिनमा नै पाकिस्तानलाई ठूलो क्षति पुर्‍याएको मोदीको दाबी छ । भारतको आक्रामक कारबाहीपछि पाकिस्तानले भाग्ने उपाय खोज्न थालेको उनको भनाइ छ । 'तनाव कम गर्न पाकिस्तान विश्वलाई बिन्ती गरिरहेको थियो र भारी क्षति बेहोरेपछि पाकिस्तानी सेनाले मे १० को दिउँसो हाम्रो डीजीएमओलाई सम्पर्क गर्‍यो । त्यतिन्जेलसम्म हामीले ठूलो मात्रामा आतङ्कवादको पूर्वाधार नष्ट गरिसकेका थियौं । आतङ्ककारीहरूलाई समाप्त पारिसकेका थियौं,' उनले भने, 'हामीले पाकिस्तानको मुटुमा स्थापित आतङकवादी अड्डाहरू नष्ट गरिसकेका थियौं । त्यसकारण, जब पाकिस्तानले अपील गर्‍यो र भन्यो कि यो अब कुनै पनि प्रकारको आतङ्कवादी गतिविधि वा सैन्य दुस्साहसमा संलग्न हुनेछैन, भारतले यसमाथि विचार गर्‍यो । र म फेरि पनि भन्दैछु, हामीले पाकिस्तानको आतङ्क र सैन्य अखडाहरू विरुद्धको हाम्रो जवाफी कारबाही हाललाई स्थगित गरेका छौं । आगामी दिनहरूमा हामी पाकिस्तानको प्रत्येक कदमलाई पाकिस्तानले कस्तो रवैया अपनाउनेछ भन्ने मापदण्डमा मापन गर्नेछौं ।'

भारतका तीनवटै सेनाहरू (वायुसेना, सेना र नौसेना, सीमा सुरक्षा बल (बीएसएफ), अर्धसैनिक बल) निरन्तर सतर्क अवस्थामा रहेको उनले बताए । सर्जिकल स्ट्राइक र एयर स्ट्राइकपछि अब अपरेशन सिन्दूर आतङ्कवादविरुद्ध भारतको नीति बनेको मोदीको भनाइ छ । अपरेशन सिन्दूरले आतङ्कविरुद्धको लडाइँमा नयाँ मापदण्ड स्थापना गरेको छ र नयाँ मानक तय गर्नुका साथै न्यु नर्मल समेत स्थापना गरेको मोदीको धारणा छ । 'यदि भारतमाथि आतङ्कवादी आक्रमण भयो भने त्यसको उचित जवाफ दिइनेछ । हामी हाम्रो सर्तहरूमा मात्र उचित जवाफ दिनेछौँ । हरेक ती ठाउँमा गएर हामी कडा कारबाही गर्नेछौं जहाँबाट आतङ्कवाद मौलाउँछ,' सम्बोधनका क्रममा मोदीले भने, 'भारतले कुनै पनि किसिमको न्युक्लियर ब्ल्याकमेल सहने छैन । न्युक्लियर ब्ल्याकमेलको आडमा विकास गरिएका आतङ्कवादी लुक्ने ठाउँहरूमा भारतले सटीक र निर्णायक रुपमा प्रहार गर्नेछ । हामी आतङकवादलाई सहयोग गर्ने सरकार र आतङ्कवादीका योजनाकारहरूबीच कुनै भिन्नता गर्ने छैनौँ ।' 

भारतले प्रत्येकपटक युद्धभूमिमा पाकिस्तानलाई पराजित गरेको मोदीले स्करण गरे । 'यसपटक अपरेशन सिन्दूरले एक नयाँ आयाम थपेको छ । हामीले मरुभूमि र पहाडहरूमा आफ्नो क्षमता प्रदर्शन गरेका छौँ  र न्यु एज वारफेयरमा पनि आफ्नो श्रेष्ठता प्रमाणित गरेका छौं । यस अपरेसनका क्रममा ‘मेड इन इन्डिया’ हतियारहरूको विश्वासनीयता पनि प्रमाणित भएको छ । आज संसार देखिरहेको छ की २१औँ शताब्दीको वारफेयरमा ‘मेड इन इन्डिया’ रक्षा उपकरणहरूको समय आइसकेको छ,' उनले भने, 'सबै प्रकारका आतङ्कवादविरुद्ध हाम्रो एकता हाम्रो सबैभन्दा ठूलो शक्ति हो । यो निश्चित रूपमा युद्धको युग होइन, तर यो आतङ्कवादको युग पनि होइन । आतङ्कवादविरुद्ध शून्य सहनशीलता नै राम्रो संसारको ग्यारेन्टी हो ।'

पाकिस्तानी सेना र पाकिस्तान सरकारले जसरी आतङ्कवादलाई प्रोत्साहन गरिरहेको छ, त्यसले एक दिन पाकिस्तानलाई नै समाप्त पार्ने मोदीको भनाइ थियो । पाकिस्तान यदि जिउन चाहन्छ भने उसले आफ्नो आतङ्कवादी पूर्वाधारलाई नष्ट गर्नुपर्ने मोदीले चेतावनी दिए । 'शान्तिको अर्को कुनै बाटो छैन । भारतको अडान एकदम स्पष्ट छ ... आतङ्क र वार्ता सँगै जान सक्दैनन् ... आतङ्क र व्यापारसँगै जान सक्दैनन् .... पानी र रगत सँगै बग्न सक्दैनन्,' उनले भने, 'आज म विश्व समुदायलाई पनि भन्न चाहन्छु की हाम्रो घोषित नीति यस्तो रहेको छ, यदि पाकिस्तानसँग वार्ता हुन्छ भने त्यो केवल आतङ्कवादबारे हुनेछ र यदि पाकिस्तानसँग वार्ता हुन्छ भने त्यो केवल पाकिस्तान अधिकृत कश्मीर (पीओके)का बारेमा हुनेछ ।'

salt training

कमेन्ट गर्नुहोस्