
कास्कीको पोखरा महानगरपालिका-३२ लामेआहालमा माइक्रोबस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
धादिङबाट पोखरा जाँदै गरेको ग १ ज ८६३० नम्बरको विद्युतीय माइक्रोबस दुर्घटनामा हुँदा उनीहरूको मृत्यु भएको हो । मृतक तीनै जना धादिङका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी, डीएसपी हरिबहादुर बस्नेतका अनुसार धादिङ घर भइ पोखरा बस्दै आएकी झाङमाया गुरुङ, धादिङको ज्वालामुखी गाउँपालिका-५ की ४५ वर्षीया तिलकुमारी आचार्य र नीलकण्ठ नगरपालिका-२ भुलभुलेका १५ वर्षीय आगुम गुरुङको दुर्घटनामा मृत्यु भएको छ ।
घाइते ८ जनामध्ये तीन जना सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् भने पाँच जनाको उपचार चलिरहेको डीएसपी बस्नेतले लोकान्तरलाई जानकारी दिए । उनीहरूको गण्डकी क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
प्रारम्भिक जाँचमा तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने शंका गरिएको छ । माइक्रोबस सडकबाट तल खसेर दुर्घटनामा परेको हो ।