
पढाइको चाहना पूरा गर्न उमेर तगारो नहुँदोरहेछ । यही कुरालाई सत्य प्रमाणित गरिदिएकी छिन् लालझाडी गाउँपालिका–४ पर्सीयाकी डल्लीदेवी चौधरीले ।
५२ वर्षको उमेरमा चौधरीले विद्यालयमा भर्ना भएर पढ्न थालेकी हुन् । गाउँकै स्वतन्त्र माध्यमिक विद्यालयमा कक्षा १ मा भर्ना भएर उनले पढ्न थालेकी हुन् । चौधरी गाउँपालिका–४ को वडासदस्य हुन् । उनी विद्यालय व्यवस्थापन समिति सदस्य पनि हुन् ।
'सानैदेखिको विद्यालय गएर पढ्ने चाहना थियो,' उनले भनिन्, 'पढ्नै पाइएन, सँगैका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका साथीहरूले हस्ताक्षर गर्नुहुन्छ, मैले औँठा लगाउनुपर्ने हुन्छ, यस्तो अवस्थामा मनभित्र हीनताबोध हुन्छ ।'
पढ्न पाएको भए यस्तो हुँदैनथ्यो भन्ने कुरा मनभित्रै खेल्ने गरेको उनले बताइन् ।
अब पढेर साक्षर बन्न विद्यालय भर्ना भएको उनले बताइन् । 'विद्यालय व्यवस्थापन समितिको बैठकमा सहभागी सदस्यहरूले आफूले यति उति पढेको कुरा सुनाउन थाले आफू नपढेकाले हीनता महसुस गरेँ,' उनले भनिन्, 'मैले पनि पढेको भए अहिले फुइ लगाउँथे भनेर सोच्न थाले, बैठकमै सहभागी शिक्षकले उमेर जति भए पनि पढ्न उमेर तगारो हुँदैन भनेर हौसला बढाएपछि मनभित्रैबाट पढ्ने पुनः इच्छा पलायो, त्यसपछि भर्ना भए, विद्यालयबाट किताब लगेर अध्ययन गर्न थालेको छु ।'
वडाको कामले गाउँमा खटिनुपर्ने हुँदा नियमित विद्यालय जान नपाए पनि घरमा रहेका नातिनीहरूबाट बाह्रखरी, दुनालगायत पढ्न र सिक्न थालेको उनले बताइन् । समय मिलेको बेला कक्षामै अरू विद्यार्थीसँगै बसेर पढ्न पनि जाने गरेको उनले बताइन् । धेरै वर्ष पहिले गाउँमा सञ्चालन भएको अनौपचारिक (प्रौढ) कक्षामा क, ख र १, २ सिकेको भए पनि बाह्रखरी र दुना नसिक्दा पढन लेख्नबाट वञ्चित भएको उनी बताउँछन् । अनौपचारिक कक्षामा पूरै समय दिन नसक्दा लेख्न र पढ्न जान्ने हुन नसकेको उनको भनाइ रहेको छ ।
'बुबा किसान (जमिदार)को घरमा कमैया भएर काम गर्नु हुन्थ्यो,' उनले भनिन्, 'सानै छँदा विद्यालय पढ्छु भनेर बुबालाई नभनेको होइन, उहाँले पढ्ने कुराप्रति फिट्टिकै ध्यान दिनुभएन, सानै भएकाले आफूले विद्यालय जाने हिम्मत गरिन्, १०/१२ वर्षको उमेर भएपछि गोठाला जान थाले त्यसपछि विद्यालय जाने कुरा बिर्सिए ।' तेह्र वर्ष पुग्नै लाग्दा विवाह भयो । घरधन्दा गर्नमै उनका दिन बित्न थाले ।
'विवाह भएर आएपछि ससुरालमा भान्साको काम सुम्पियो,' उनले भनिन्, 'पूरै परिवारका लागि साँझ बिहानको खाना पकाउनुपर्दथ्यो, खाना पकाउन, खुवाउन र भाँडाकुँडा सफा गर्नमै दिन बित्थ्यो, बचेको समयमा खेतबारीमा काम गर्नमै ठिक्क हुन्थ्यो ।' चुलोचौकाबाट फुर्सदनै नहुने भएपछि पढ्ने कुरा सोच्न पनि नपाइएको उनी बताउँछिन् । 'विवाह भएको तीन चार वर्षमै बच्चाबच्ची जन्मिए, बच्चाबच्चीलाई हुर्काउनमै समय बित्दै गयो,' उनले भनिन् ।
आफूले नपढे पनि छोराछोरीलाई पढाउनुपर्छ भनेर त्यसतर्फ लागेको उनले सुनाइन् । छोरालाई इन्टरनेट जडानको कार्यको सीप सिकाएर आत्मनिर्भर बनाएको उनको भनाइ रहेको छ । उनले छोरीको विवाह भने गरी सकेकी छन् । 'वडासदस्यमा पहिलोपटक निर्वाचित भएर आएपछि समाजका अगाडि बोल्न निकै गाह्रो हुन्थ्यो,' उनले भनिन्, 'वडासदस्यमै दोस्रो कार्यकाल बित्न लागेको छ, अब सबैका अगाडि विकासका कार्य, सामाजिक कार्य, रीतितिथी बसाल्ने कार्यसँगै गाउँमा हुने सामाजिक कार्यमा नियमित भाग लिने भएकाले बोल्न सिकेको छु ।'
विद्यालयका प्रध्यानाध्यापक जगन्नाथ भट्टले वडासदस्य चौधरीलाई विद्यालयमा कक्षा १ मा भर्ना गरी पढ्न किताब उपलब्ध गराइएको बताए । 'उहाँको पढ्ने प्रवल इच्छा रहेछ,' उनले भने, 'उहाँकै इच्छाअनुसार भर्ना गरी कक्षामा सहभागी हुनका लागि आग्रह गरेका छौँ, उहाँलाई बाह्राखरीसँगै वर्णविन्यास, दुनालगायत लेख्न पढ्न सिकाउने कार्य गर्छौँ।'
खरर किताब पढ्ने र चुस्त दुरूस्त रूपमा हिसाब गर्न सक्ने गरी पढाएर निपूर्ण बनाउने उनले बताए । 'वडासदस्यलाई पनि मेहनत गराउँछौँ,' उनले भने, 'कक्षा शिक्षकहरूलाई सिकाउने कार्यमा बढी जोड दिन भनेका छौँ, भर्खरै कक्षा सञ्चालन भएकाले उहाँले कक्षामा सहभागी भएर पढ्ने इच्छा जाहेर गर्नुभएको छ । पढ्नका लागि आउनुहुन्छ ।' रासस