
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली जारी गरेपछि राइडर्स र सेल्फ ड्राईभ सञ्चालकहरुले सरकारलाई धन्यवाद दिएका छन् ।
आईतवार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर उनीहरुले नेपालमै पहिलो पटक गण्डकी प्रदेश सरकारले राईड सेयरिङ नियमावली जारी गरेर युवाहरुको रोजगारी र यात्रुको सस्तो, सहुलियत सुविधाको ग्यारेन्टी गरेको भन्दै धन्यवाद दिएका हुन् ।
‘यहाँ प्रशस्त राइड सेयरिङ चलिरहेकै थियो, हजारौं व्यक्तिले यसबाट सेवा पाइरहेकै थिए, हामीले सेवा दिईरहेका थियौँ’ राइडर्स नेपाल पोखराका अध्यक्ष अनील श्रेष्ठले भने ‘यात्रुले सजिलो, छिटो, स्तरीय सेवा पाउन् र हामीजस्ता युवाहरुको रोजीरोटीको पनि गण्डकी सरकारको यो निर्णयले ग्यारेन्टी गरेको छ ।’
सेल्फ ड्राईभ सञ्चालक रमेशराज पाण्डेले भने, ‘सरकारले ल्याएको नियमावलीले हामीलाई ब्यवशाय गर्न सहज हुनेछ, अव पहिलेजस्तो दुःख भोग्नु नपर्ला भन्नेमा खुसी छौँ ।’ सरकारले ल्याएको मापदण्ड भित्र रहेर सेवा दिन तयार रहेको बताउँदै उनले नेपालको पर्यटकीय राजधानीमा आन्तरिक तथा बाह्य पर्यटकलाई नियम कानून भित्र रहेर सेवा दिन पाउने ढोका खुलेको भन्दै मुख्यमन्त्रीलाई धन्यवाद दिए ।
राइडर्सहरुको कुरा सुनेपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले यात्रुको सुरक्षा र सुविधालाई पहिलो प्राथमिकता दिएर नियमावली जारी गरेको बताए ।
गण्डकी प्रदेश सरकारले बैशाख ३१ गतेको मन्त्रिपरिषद् बैठकबाट राइड सेयरिङ नियमन र व्यवस्थापन सम्बन्धी छुट्टै नियमावली जारी गरेको हो ।