
चीनको ईभी निर्माता कम्पनी बीवाईडीले विश्वकै सबैभन्दा ठूलो कारवाहक जहाज ‘बीवाईडी सेन्जेन’ सञ्चालनमा ल्याएको छ। यससँगै कम्पनीले नयाँ कीर्तिमान कायम गरेको छ।
विश्वकै ठूलो विशाल जहाजले एकैपटक ९ हजार २०० सवारी साधन बोक्न सक्ने जनाइएको छ । जसले विश्वव्यापी विद्युतीय सवारी साधनको ढुवानीमा क्रान्तिकारी परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।
‘बीवाईडी सन्जेन’ जहाज ७२१ फिट अर्थात् २१९.९ मिटर लामो र १२३ फिट अर्थात् ३७.७ मिटर चौडाइ छ । यसमा १६ तल्ला रहेका छन् जसले ठूलो संख्यामा सवारी साधनलाई व्यवस्थित रूपमा राख्छ । जहाजले १९ नट (लगभग ३५ किलोमिटर प्रतिघण्टा)को अधिकतम गतिमा चल्छ ।

कम्पनीका अनुसार जहाजले पर्यावरण संरक्षणलाई प्राथमिकता दिँदै अत्याधुनिक प्रविधिहरू समावेश गरेको छ । यसमा एलएनजी (लिक्विफाइड नेचुरल ग्यास) डुअल–फ्युल सिस्टम र ब्याट्री हाइब्रिड प्रणाली जडान गरिएको छ । जसले परम्परागत इन्धनको तुलनामा उत्सर्जनलाई उल्लेखनीय रूपमा कम गर्छ ।
बन्दरगाहमा रहँदा जहाजले शोर पावर (तटीय विद्युत आपूर्ति) प्रयोग गर्ने जसले डिजेल इन्जिनको आवश्यकतालाई हटाएर वायु प्रदूषणलाई न्यूनीकरण गर्ने जनाइएको छ ।
यसका साथै जहाजमा नाइट्रोजन अक्साइड उत्सर्जन घटाउने प्रविधि जडान गरिएको छ । जहाजको बाहिरी सतहमा प्रयोग गरिएको विशेष पेन्ट र ऊर्जा–बचत डिजाइन ले इन्धन खपतलाई घटाउने जनाइएको छ । साथै, स्मार्ट नेभिगेसन र म्यानेजमेन्ट सिस्टमले सवारी साधनको सुरक्षित र व्यवस्थित ढुवानी गर्न सहयोग पुर्याउँछ ।

जहाजमार्फत आफ्नो विद्युतीय सवारी साधनलाई विश्वका विभिन्न बजारमा प्रभावकारी रूपमा पुर्याउने लक्ष्य कम्पनीले राखेको छ । कम्पनीले विशेषगरी दक्षिण अमेरिका, युरोप र अन्य क्षेत्रमा आफ्नो बजार विस्तार गर्ने योजना बनाएको छ ।
यसले बीवाईडीको विश्वव्यापी आपूर्ति श्रृंखलालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।
बीवाईडीले विद्युतीय सवारी साधनको क्षेत्रमा मात्र नभई समुद्री ढुवानी र पर्यावरणमैत्री प्रविधिमा समेत आफ्नो नेतृत्व कायम राखेको छ । ‘बीवाईडी सेन्जेन’को सञ्चालनले कम्पनीको नवप्रवर्तन र दिगो भविष्यप्रतिको प्रतिबद्धतालाई झल्काएको छ ।
