
काठमाडौं, १७ मंसिर — उत्तर कोरियासँग अमेरिकाको युद्धको सम्भावना दिनप्रतिदिन बढ्दै गएको अमेरिकाका राष्ट्रपति राष्ट्रिय सुरक्षा सल्लाहकारले शनिवार बताएका छन् ।
क्यालिफोर्नियाको सिमी उपत्यकामा आयोजित रेगन नेसनल डिफेन्स फोरममा बोल्दै एचआर मक्मास्टरले उत्तर कोरिया ‘अमेरिकाका लागि सबभन्दा ठूलो तत्कालीन खतरा’ भएको बताए ।
‘मलाई लाग्छ यो खतरा दिनदिनै बढ्दो छ । भन्नाको अर्थ हामीहरूले यो समस्याको समाधानलाई लागि छिट्टो पाइला चाल्नुपर्ने भएको छ,’ उनले थपे ।
उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षणका बारेमा सोध्दा मक्मास्टरले राष्ट्रपति ट्रम्प कोरियाली प्रायद्वीपको आणविक शस्त्र अन्त्यका लागि प्रतिबद्ध रहेको बताए ।
चीनले उत्तर कोरियाविरुद्ध थप कडा आर्थिक प्रतिबन्ध लगाउनसक्ने र उसले प्योङयाङमाथि ‘ठूलै बाध्यकारी आर्थिक शक्ति’ लगाउनसक्ने मक्मास्टर बताउँछन् ।
चीनले उत्तर कोरियालाई निर्यात गर्ने तेलको कटौती गर्नुपर्ने बताउँदै भने, ‘इन्धन नभई क्षेप्यास्त्र प्रहार गर्ने कुरा हुँदैन ।’
तेलमाथि पूर्ण प्रतिबन्ध अहिलेका लागि उचित हुने ट्रम्प र आफूलाई लागेको उनले बताए ।
एजेन्सी