विपक्षी दलको विरोधका कारण प्रतिनिधिसभा बैठक आज बुधबार पनि अवरुद्ध भएको छ ।
अवरोधपछि बैठक आजै आधा घण्टापछि बस्ने गरी सभामुखले स्थगित गरेका छन् ।
सभामुख देवराज घिमिरेले बैठकको कारबाही अघि बढाउने बित्तिकै विपक्षी दल उठेर विरोध जनाएका थिए ।
त्यसपछि सभामुख घिमिरे र विपक्षी दलका सांसदबीच सवाल जवाफ चल्यो । सभामुख घिमिरेले सदन सञ्चालनका लागि सहयोग गर्न पटक-पटक आग्रह गरे पनि विपक्षी दलका सांसद राजी भएनन् ।
बैठकमा सभामुख देवराज घिमिरेले बैठकमा बोल्न गृहमन्त्री रमेश लेखकले समय माग गरेको बताए । तर, गृहमन्त्रीलाई बोल्न दिन विपक्षी दल तयार भएनन् ।
त्यसपछि सभामुख घिमिरेले संसद् बैठक ३० मिनेटका लागि स्थगित गरेका हुन् । मंगलबार पनि विपक्षीको अवरोधका कारण संसद् चल्न सकेको थिएन ।
माओवादी केन्द्र र रास्वपा लगायतका विपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा मागिरहेका छन् ।