०७ असार २०८३, आइतबार

‘मत जोगाउने जिम्मा युवाको’

मंसिर १८, २०७४
‘मत जोगाउने जिम्मा युवाको’


बुटवल, १८ मंसिर - नेकपा (एमाले)का उपमहासचिव तथा रुपन्देही क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार विष्णुप्रसाद पौडेलले जिल्लाका सबै क्षेत्रमा गठबन्धनको जित सुनिश्चित भएको जिकिर गर्दै मतदाताको सदाशयता र सम्मानलाई जोगाइराख्न जरुरी रहेको बताउनुभएको छ । 

प्रतिनिधिसभा र प्रदेशसभाको यही २१ गते हुने निर्वाचनको प्रचारप्रसारको आज अन्तिम दिन राजमार्ग चौराहामा भएको मार्च पास्ट तथा युवा भेलालाई सम्बोधन गर्दै नेता पौडेलले वाम गठबन्धनको एकताबाट यसका विरोधीहरू आत्तिएको बताउँदै त्यस्ता तत्वको चियोचर्चो गर्न कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो । 
जिल्लाका जुनसुकै क्षेत्रमा हुने आचारसंहिताविरुद्ध गतिविधिलाई रोक्ने तथा मतदाताको मत प्रभावित पार्न खोज्नेको पहिचान गरी कानुनको कठघरामा उभ्याउने काममा सजगकताका साथ लाग्न युवालाई आह्वान गर्नुभयो । 

सभामा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सचिवालय सदस्य वामदेव क्षेत्रीले निर्वाचनको वातावरण हेर्दा देशैभर गठबन्धनको विजय सुनिश्चित भइसकेको बताउँदै अब मत जोगाउने जिम्मा युवाको हातमा रहेको छ भन्नुभयो । 

निर्वाचन परिचालन कमिटी रुपन्देही २ का संयोजक नेत्र पन्थीले मौन अवधिभित्र आचारसंहिताविपरीतका गतिविधि नगर्न र गर्नेमाथि निगरानी राख्न निर्देशन दिनुभयो । सो अवसरमा रुपन्देही क्षेत्र नं २ मा प्रदेशसभाका उम्मेदवारद्वय लीला गिरी र भोजप्रसाद श्रेष्ठले रुपन्देहीलाई विकासको नमुना बनाउने गठबन्धनको अभियानलाई साथ दिन आह्वान गर्नुभयो । 

कमेन्ट गर्नुहोस्