२८ जेठ २०८३, बिहीबार

साउनयता ​मरे २८ गैँडा

जेठ १४, २०८२
चितवन
साउनयता ​मरे २८ गैँडा
फाइल फोटो

गत साउनयता प्राकृतिक कारणले चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र डिभिजन वन कार्यालय अन्तर्गतका वन क्षेत्रमा २८ वटा गैँडा मरेका छन् । 

राष्ट्रिय वन क्षेत्रमा एउटा तथा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २७ वटा गैँडा मरेका हुन् ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार यो अवधिमा चोरी सिकारीले गैँडा मार्न पाएका छैनन् । गत साउन, भदौ र असोजमा दुई/दुई वटा गैँडा मरेका थिए ।

कात्तिकमा चार, मङ्सिरमा दुई, पुसमा एक, माघमा तीन, फागुन र चैतमा चार/चार र वैशाखमा तीन वटा गैँडा मरेका हुन् । यही जेठमा राष्ट्रिय वन क्षेत्रमा एउटा गैँडा मरेको हो ।

सूचना अधिकारी थापा मगरका अनुसार बाघ तथा गोहीको आक्रमणमा परेर, एक–आपसमा जुधेर, बिरामी भएर, दलदलमा फसेर, बुढो भएर, भाले गैँडाले थिचेर ती गैँडा मरेका हुन् । गत आर्थिक वर्षमा २१ वटा गैँडा मरेका थिए । मरेका गैँडामध्ये १८ वटा प्राकृतिक कारणले थिए भने दुई वटा चोरी सिकारीले र एउटाको कारण खुल्न सकेको थिएन ।

 मगरका अनुसार आर्थिक वर्ष २०७९/८० मा चितवन राष्ट्रिय निकुञ्जमा २२ वटा गैँडा मरेका थिए । जसमध्ये २० वटा कालगतीले, एउटा विद्युतीय करेन्टबाट र एउटा चोरी सिकारीले मारेका थिए । विक्रम संवत् २०८० कात्तिक ३० गतेयता चोरी सिकारीले गैँडा मार्न पाएका छैनन् ।

विक्रम संवत् २०८० कात्तिक ३० गते निकुञ्जकै पूर्वी सेक्टर अन्तर्गत चपरचुली क्षेत्रमा खाल्डोमा पारेर तस्करहरूले दुई वटा गैँडा मारेका थिए ।

त्यस घटनामा संलग्न रहेको आरोपमा नौ जनालाई पक्राउ गरी निकुञ्जले सार्वजनिक गरेको थियो । 

सन् २०२१ को गणना अनुसार नेपालमा गैँडाको सङ्ख्या ७५२ पुगेको छ । एकसिङे गैँडाको सङ्ख्या सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ६९४ रहेको छ । बर्दियामा ३८, शुक्लाफाँटामा १८ र पर्सामा तीन गैँडा रहेको तथ्याङ्क छ ।

यसवर्ष गैँडा गणना गर्ने कार्यक्रम रहे पनि अन्तिम समयमा बजेट व्यवस्थापनमा समस्या भएपछि स्थगन भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्