
प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा गणतन्त्र दिवसको शुभकामना व्यक्त गरेका छन् ।
गणतन्त्र दिवसलाई शाही दमन चिरेर जनताले इतिहास लेखेको दिनको रूपमा स्मरण गर्दै उनले सबैलाई शुभकामना दिएका हुन् ।
आजको दिन मुकुटको होइन–मुलुकको हितले स्थान पाएको दिनको रूपमा उनले स्मरण गरेका छन् ।
यसैगरी आज सिंहासनको अभिमान तोडेर नागरिकको स्वाभिमान स्थापित भएको दिन र जनताको सात दशक लामो बलिदानीपूर्ण सङ्घर्षले विजय प्राप्त गरेर गणतन्त्र आर्जन गरेको दिन भएको उनले बताएका छन्।
'शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन हो आज । मुकुटको होइन–मुलुकको हितले स्थान पाएको दिन, सिंहासनको अभिमान तोडेर नागरिकको स्वाभिमान स्थापित भएको दिन, जनताको सात दशक लामो बलिदानीपूर्ण सङ्घर्षले विजय प्राप्त गरेर गणतन्त्र आर्जन गरेको दिन,' प्रधानमन्त्री ओलीले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, 'गणतन्त्र दिवसको गरिमामय अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना, जय–जय–जय नेपाल !'
आज १८औँ गणतन्त्र दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।