
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पञ्चायतकालीन अध्याँरोपछि लोकतन्त्र र गणतन्त्रमा देश उज्यालोतिर प्रवेश गरेको बताएका छन् ।
गणतन्त्र दिवसको अवसरमा एमालेको आयोजनामा बिहीबार काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले जनताले लडेर ल्याएको उत्सवलाई पछाडि फर्काउन खोजिएपछि एमालेले यो उत्सव मनाएको पनि बताए ।
‘राज्यको ध्यान जनताको विजय दिनको रूपमा हुँदै आएको छ । तर, यो उत्सवलाई पछाडि फर्काउन खोजिएपछि जनताको उत्सवको दिनको रूपमा हामीले मनाउन खोजेका हौं । देशभर यसरी नै भव्य र शान्त रूपमा जातजातिका भेषभुषा, बाजागाजा र सांस्कृतिक र्यालीसहित सम्पन्न गरेका छौं,’ पोखरेलले भने, ‘जनताको बलिदानीपूर्ण संघर्षबाट जनताले सार्वभौमसत्ता स्थापित गरेको दिनलाई हामीले उत्सवको रूपमा मनाएका हौं ।
गणतन्त्रको बहुआयामिक सन्देश रहेको भन्दै उनले देशलाई समृद्धिको बाटोमा लिएर अगाडि बढिरहेको पनि उल्लेख गरे ।
‘नेपाललाई विकास र समृद्धिमा अगाडि बढाउन गणतन्त्र स्थापना गरेका हौं । यसको माध्यमबाट देशलाई समृद्धिको बाटोमा अगाडि बढाउँदैछौं । पञ्चायतको अन्तिम समयमा धनी र गरिबको खाडल धेरै थियो । अहिले घट्दो छ । समाज समानताको रूपमा अगाडि बढेको छ । समाजमा मध्यम वर्गको उदय भएको छ,’ पोखरेलले भने, ‘लोकतन्त्रले जनतालाई बलियो बनाएको छ । पञ्चायतकालमा सडक जम्मा ८ हजार किलोमिटर थियो । अहिले एक लाख बढी किलोमिटर राम्रा सडक बनेका छन् । प्रदेश र स्थानीय तहमा पनि उत्तिकै राम्रा सडक र पूर्वाधार बनको छन् ।’
पञ्चायतमा जनताको जिउधन नै अध्याँरो रहेको स्थितिबाट आजको स्थितिमा देश पुगेको उनको भनाइ छ ।
‘पञ्चायतमा जनताको जिउधन नै अध्याँरो थियो । आज बाल मृत्यु, मातृ मृत्युदर घटेको छ । औसत आयु ५४ वर्षबाट बढेर लोकतन्त्र आएपछि ७२ वर्षमाथि पुगेको छ,’ उनले भने ।
काठमाडौंका विभिन्न स्थानबाट शुरू भएको झाँक्री भृकुटीमण्डपसम्म प्रदर्शन गरेपछि टुंगिएको थियो ।
राप्रपासहितका राजावादी दल र समूहले राजसंस्था र हिन्दू राज्य पुनर्स्थापनाका लागि गणतन्त्र दिवसकै दिन जनआन्दोलन घोषणा गरेपछि एमालेले काउन्टरमा उत्सवको रूपमा यो कार्यक्रम गरेको हो ।
एमालेको सभापछि राजावादी समूहले काठमाडौंको रत्नपार्कमा प्रदर्शन गर्दैछन् ।