
सरकारले छिमेकी मुलुकहरूसँग आपसी हितका आधारमा द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने नीति अघि सारेको छ।
आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले परराष्ट्र नीतिअन्तर्गत कूटनीतिक सम्बन्धलाई पारस्परिक लाभमा आधारित बनाइने बताए।
उनका अनुसार विदेशमा रहेका नेपाली नागरिकको हक, हित र सुरक्षाका लागि प्रभावकारी कूटनीतिक पहल गरिनेछ।
वैदेशिक रोजगारी, अध्ययन वा अन्य प्रयोजनमा विदेशमा रहेका नेपालीहरू संकटमा परेमा उनीहरूको शीघ्र उद्धार तथा सहयोगका लागि विशेष संयन्त्र सञ्चालन गरिने बजेटमा उल्लेख गरिएको छ।
सरकारले नेपाली राजदूतावास र कन्सुलर सेवा प्रभावकारी बनाउने, श्रमिक र आप्रवासीको संरक्षण तथा सेवा सहज बनाउने योजनासमेत अघि सारेको छ।