
सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि बजेट घटाएको छ । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट झण्डै आधाले घटाइएको हो ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२/८३ को बजेटमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि रु चार अर्ब २८ करोड विनियोजन गरिएको उल्लेख छ ।
साथै सबै प्रकारका सामाजिक सुरक्षा भत्ताका लागि रु एक खर्ब नौ अर्ब विनियोजन गरिएको उनले बताए ।
मन्त्रालयको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि चालु आवमा रु आठ अर्ब १० करोड विनियोजन गरिएको थियो । आगामी आवका लागि मन्त्रालयको बजेट झन्डै आधा अर्थात् ४७ दशमलव १६ प्रतिशतले कम हो ।
मन्त्री पौडेलले बेरोजगारी समस्या दिगो रुपमा समाधान गर्न श्रम बजारको मागअनुरूप युवा जनशक्तिको दक्षता वृद्धि गरिने बताए ।
आगामी आवका लागि विनियोजित बजेटमा राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम सञ्चालनका लागि रु एक अर्ब ९९ सय करोड विनियोजन गरिएको छ ।
उनले बजेटमा रोजगार पोर्टल सञ्चालन गर्ने र सबै प्रदेशमा रोजगार मेला सम्मेलन आयोजना गरिने जानकारी दिए ।