
काठमाडौं, १९ मंसिर— मंसिर २१ गते दोस्रो चरणमा ४५ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि गएराती १२ बजेपछि मौन अवधि लागू भएको छ
मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, आम मतदाता कुनै पनि प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न हुन नपाइने निर्वाचन आयोगका प्रवक्तानवराज ढकालले जानकारी दिए
साथै आमसञ्चार माध्यमले समेत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि राजनीतिक वा उम्मेदवारको पक्ष वा विपक्षमा समाचार प्रकाशन÷प्रसारण गर्न, मत सर्वेक्षण गर्न र त्यसको परिणाम प्रकाशन वा प्रसारण गर्नु निर्वाचन आचारसंहिता विपरीत हुने उनको भनाई छ ।
निर्वाचन आयोगबाट जारी भएका मतदाता शिक्षाका सामग्री, सूचना वा सन्देश प्रवाह गर्न भने कुनै रोकावट नभएको ढकालले बताए ।
मौन अवधिमा पालना गर्नुपर्ने कुराहरूः
१. निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने ।
२. मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने ।
३. एस.एम.एस., फेसबुक, भाइवरजस्ता सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने ।
४. मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने ।
यी हुन् २१ गते चुनाव हुन लागेका ४५ जिल्ला
प्रदेश नं १ : इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी,
प्रदेश नं २ : सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट,
प्रदेश नं ३ : सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर,
प्रदेश नं ४ : नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तनहुँ, कास्की, स्याङ्जा र पर्वत,
प्रदेश नं ५ : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान बाँके र बर्दिया,
प्रदेश नं ६ : सल्यान, सुर्खेत र दैलेख,
प्रदेश नं. ७ : कैलाली, कन्चनपुर, डडेल्धुरा, अछाम र डोटी ।