
प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ । शुक्रबार रातिदेखि परेको वर्षाका कारण विमानस्थलबाट लुक्काका लागि तय भएका अधिकांश उडान डिले भएका छन् ।
लुक्लाका मात्रै १० उडान डिले भएको विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका अनुसार दुई उडान भने क्यान्सिल भएका छन् । थामखर्क र रेसुङ्गाका दुई उडान रद्द भएका हुन् ।
यसबाहेक अन्तर्राष्ट्रिय उडान र अवतरण भने नियमित छ ।
मनसुन भित्रिएसँगै देशका धेरै ठाउँमा रातिदेखि पानी परिरहेको छ । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहितको हल्कादेखि मध्यम पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशीका केही स्थान, मधेशलगायत देशको पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोशीको एक–दुई स्थानमा धेरै वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।
आज राति कोशी र मधेशका केही स्थान तथा बाँकी पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी र मधेशका एक–दुई स्थानमा धेरै वर्षाको समेत सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।
यसपालिको मनसुन दुई हप्ता छिटो कोशी प्रदेशबाट नेपाल भित्रिएको छ । नेपालमा सरदर मितिभन्दा १५ दिन छिटो मनसुन प्रवेश गरेको हो ।