०५ साउन २०८३, मंगलबार

व्यक्तिगत महत्वाकांक्षा त्यागे आउने निर्वाचनमा एमालेको एकल बहुमत आउँछ- प्रधानमन्त्री ओली

जेठ १७, २०८२
काठमाडौं
व्यक्तिगत महत्वाकांक्षा त्यागे आउने निर्वाचनमा एमालेको एकल बहुमत आउँछ- प्रधानमन्त्री ओली

प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिगत महत्वाकांक्षा नभई राष्ट्रियहित, परिवर्तन र समृद्ध नेपाललाई ध्यान दिएर अघि बढेमा आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउने बताएका छन् । 

नेपाल बुद्धिजीवी परिषद्को ११औं राष्ट्रिय महाधिवेशनको शनिबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशभित्र र बाहिरका अनेकथरी स्वार्थको टक्कर गर्नेहरूले मोर्चाबन्दी गरेर एमालेविरुद्धमा लागेर झण्डै दुई तिहाइमा पुगेको पार्टीलाई विभाजन गराए पनि त्यस स्थितिबाट अब पार्टी सुदृढ भइसकेको बताए । 

‘भविष्यमा पनि अयोग्य हुनेगरी प्रतिक्रियावादीहरूले मलाई साधारण सदस्यबाट पनि हटाएको घोषणा गरे । विचार र विकासको नायक पार्टीलाई सिध्याउँछु, धुलो चटाउँछु भने । यी सबै घेराबन्दी र मोर्चाबन्दीलाई पराजित गरेर एमाले फेरि मुलुकको लोकप्रिय पार्टी बन्यो’,ओलीले भने, ‘व्यक्तिगत महत्वाकांक्षा छोडेर राष्ट्रिय हित र परिवर्तनको हित एवं समृद्ध नेपाललाई ध्यान दिएर अगाडि बढेमा एमालेको एकल बहुमत ल्याउन कसैले रोक्न सक्दैन । विभाजन हुँदा पनि हामी लोकप्रिय पार्टी बन्न सकेका छौं । आज एमालेलाई सिध्याइदिन्छु र भित्तामा लगेर टाँसिदिन्छु भन्ने कसैको हैसियत छैन । त्यसकारण हामी मिसन २०८४ मा अघि बढेका छौं । यसमा जो जहाँ छौं, त्यहाँबाट योगदान गरौं ।’

उनले देशमा संक्रमणकाल रहेको र देशले सही निकास खोजिरहेकाले देशको परिस्थितिमा सुधारका लागि बुद्धिजीवीको भूमिका रहने भएकाले त्यसअनुसार सक्रिय हुन आग्रह गरे ।

प्रधानमन्त्री ओलीले सही कुराको समर्थन गर्दा कसैले झोले भनेर आलोचना गरे पनि परिवर्तन र जनताको झण्डा बोक्न नछोड्न आग्रह गरे । 

‘म एमालेको झोले हुँ । यतिभन्दा एमालेको विरोधीहरूलाई चित्त बुझ्छ होला । म यो झोलामा देश र जनताको परिवर्तनको चाहनालाई बोकेर हिँड्छु । यसमा मलाई गर्व छ’, अध्यक्ष ओलीले भने, ‘जेमा पनि खोट देख्ने तथाकथित आलोचनात्मक चेतबाट माथि उठ्नुस् । ढुक्क भएर राष्ट्रिय एकता र परिवर्तनको सही विचारलाई गौरवका साथ बोकेर हिँड्नुस् । तपाईंहरू बुद्धि बेचेर खाने वर्गमात्रै होइन, बौद्धिक वर्ग हो । देशलाई नोक्सान पार्ने र बेठीक गर्नेहरूको विरोध गर्नुस् । सही विचार बोक्नेहरूलाई अझ सुधारका लागि उपयुक्त सुझाव दिनुस् ।’

एमालेले राष्ट्रिय एकतालाई सर्वोपरी ठान्ने स्पष्ट गर्दै उनले लोकतन्त्र र संविधानको रक्षा गर्नुपर्ने समयमा पृथ्वीपथका नाममा राजतन्त्र पुनःस्थापाको कुरा उठाउनु अप्रासङ्गिक हुने टिप्पणी गरे । 

salt training

कमेन्ट गर्नुहोस्