
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनामा उल्लिखित जिम्मेवारी पूरा गर्न देशभरका स्थानीय तहलाई परिपत्र गरेको छ।
मन्त्रालयले पालिकास्तरीय मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा गरी लागू गर्न र सोको जानकारी मन्त्रालयलाई गराउन भनेको छ ।
यसैगरी, स्थानीय समुदायलाई मनसुनजन्य विपद्प्रति जागरुक बनाउन तथा जनचेतना अभिवृद्धि गर्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न पनि परिपत्रमा उल्लेख छ ।
त्यसैगरी, परिपत्रमा स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई सक्रिय बनाई प्रभावकारी मनसुन प्रतिकार्यका लागि पालिकास्तरमा मनसुन प्रतिकार्य कमान्ड पोष्ट स्थापना गरी प्रभावकारी सञ्चालन गर्न भनिएको छ ।
मन्त्रालयले मनसुन विपद्को अवधिमा आवश्यक पर्ने खोज, उद्धार तथा राहत सामग्रीको व्यवस्थापन गर्न, प्रतिकार्यको लागि नगर प्रहरीलाई आवश्यक साधन स्रोतसहित तयारी अवस्थामा राख्न र पालिकामा रहेका स्वयंसेवकहरू परिचालन गर्न भनेको छ।
गृहमन्त्री रमेश लेखको अध्यक्षतामा जेठ १४ गते बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले यस वर्षको मनुसनका लागि उक्त कार्ययोजा स्वीकृत गरेको थियो ।

