
काठमाडौं, १९ मंसिर — बलिउड लेजेन्ड शशि कपूरको मंगलवार दाहसंस्कार हुने भएको छ । उनको निधन सोमवार भएको थियो ।
उनानसी वर्षका शशिले कोकिलाबेन अस्पतालमा अन्तिम सास लिए । उनी लामो समयदेखि बिरामी थिए । शनिवार उनलाई छातीमा पीडा भएको थियो ।
बलिउडका कलाकारहरू उनको घरमा श्रद्धाञ्जलि दिन पुगेका थिए ।
उनले सोमवार साँझ ५ बजेर ३५ मिनेटमा अन्तिम सास लिएको अस्पतालले बतायो ।
शशि पृथ्वीराज कपूरका कान्छा छोरा थिए । पृथ्वीराजका तीन छोरा राज कपूर, शम्मी कपूर र शशि कपूर थिए ।
शशि कपूरकी पत्नी जेनिफरको निधन सन् १९८४ मा क्यान्सरको कारण भएको थियो । जेनिफरको निधनपछि उनले एक्लो अनुभव गरेका थिए ।
उनका तीन सन्तान छन् ः कुणाल कपूर, करन कपूर र सञ्जना कपूर ।
शशि कपूरले पृथ्वी थिएटरको नाटक शकुन्ताबाट अभिनय करीयर शुरु गरेका थिए । उनको पहिलो फिल्म आग थियो जसलाई राज कपूरले बनाएका थिए ।
आवारा फिल्ममा शशिले आफ्ना जेठा दाइ राज बाल्यकालीन रोल खेलेका थिए ।
नायकका रूपमा उनको पहिलो फिल्म धर्मपुत्र थियो । उनले १६० भन्दा बढी फिल्ममा अभिनय गरे ।
सन् १९७४ देखि १९९१ सम्म अमिताभ बच्चनका साथ उनले १२ वटा फिल्म खेले । उनीहरूको जोडी सुपरहिट रह्यो ।
दीवार फिल्ममा शशिले बोलेको ‘मेरे पास माँ है’ डाइलग खुबै चर्चित भएको थियो ।
एजेन्सी