०४ साउन २०८३, सोमबार

‘विपद् जोखिम न्यूनीकरणमा विश्व समुदायको सामूहिक प्रयास जरुरी’

जेठ २१, २०८२
काठमाडौं
‘विपद् जोखिम न्यूनीकरणमा विश्व समुदायको सामूहिक प्रयास जरुरी’

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विपद्को सामना गर्न एक्लो प्रयासले मात्र सम्भव नहुने भएकाले विश्व समुदायको सामूहिक प्रयास र अन्तरनिकाय समन्वय  हुनुपर्नेमा जोड दिएका छन् । 

उनले विपद् न्यूनीकरणका लागि सामुदायिक विपद् स्वयंसेवक तथा विपद् सूचक प्रभावकारी हुने पनि बताए ।  विपद् स्वयंसेवक तथा विपद् सूचकहरूको सञ्जालमार्फत् विपद्को पूर्वजानकारी, परिचालन, उद्धार एवं राहत कार्य प्रभावकारी हुने अर्यालले बताए । 

स्वीजरल्याण्डको जेनेभामा सञ्चालन भइरहेको विपद् जोखिम न्यूनीकरणका लागि विश्वव्यापी प्लेटफर्मको आठौं सत्रलाई सम्बोधन गर्दै उनले सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय र पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना भई विपद् व्यवस्थापनसँग सम्बन्धित उच्चस्तरीय तालिम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गरिरहेको जानकारी दिए ।

समुदाय विपद् स्वयंसेवक तथा विपद् सूचकमार्फत भौगोलिक तथा विपद्जन्य अवस्थामा छिटो सूचना प्राप्त हुने र यसले विपद् व्यवस्थापनमा सहकार्य तथा सहजता आउने भएकोले सशस्त्र प्रहरी बल नेपालले यस कार्यलाई उच्च प्राथमिकतामा राखेको उनले बताए । 

अर्यालले अन्तर निकाय समन्वय र यससँग सम्बन्धित डाटाको आदान–प्रदान, युवा तथा समुदायलाई अग्रपंक्तिमा राखेर विपद्को सामना गर्न सकिने भएकोले जलवायु परिवर्तनको संवेदनशीलतालाई दृष्टिगत गरेर नेपालले हालै सगरमाथा संवादमार्फत् विश्व संवादको थालनी गरेको बताए । 

सम्बोधनका क्रममा उनले नेपाल प्राकृतिक विपद्को अग्रपंक्तिमा रहेकाले यस्ता प्रकारका चुनौती सामना गर्न र विपद् जोखिम न्यूनीकरण गर्न दृढ प्रतिबद्ध रहेको जानकारी दिए ।

नेपाली भूगोल समुन्द्री सतहबाट ५९ मिटरदेखि ८८४८ मिटर अग्लो विश्वको सर्वोच्च शिखर सगरमाथासम्म रहेकोले भूकम्प, बाढी, पहिरो, चट्याङ जस्ता प्रकोपहरूको सामना गरिरहेको तथा स्थानीय रूपमा गरिएको कार्य तथा विश्वव्यापी रणनीतिमा एकसाथ अघि बढ्न सकिने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्