
गृहमन्त्री रमेश लेखकले विपद् प्रतिकार्य पूर्वतयारीलाई दुरुस्त राख्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
मनसुन भित्रिसँगै त्यसबाट जनजीवन प्रभावित हुन सक्ने आकलन भइरहेका बेला गृहमन्त्री लेखकले विपद् प्रतिकार्य पूर्वतयारीलाई तिव्रता दिन मातहतका निकायलाई निर्देशन दिएका हुन् ।
मन्त्री लेखकले सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र काठमाडौंमा रहेको नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय निरीक्षणका साथै आवश्यक पूर्वतयारीको बन्दोबस्तीबारे जानकारी पनि लिएका छन् ।
गत वर्षको बाढीले जनधनको ठूलो क्षति गरेको थियो । यसपालि झन् औसतभन्दा धेरै वर्षा हुने पूर्वानुमान छ ।
विगत तीन दिनयता गृहमन्त्री लेखकले पूर्वतयारीका विषयमा सरोकारावाला निकायसित समन्वय बढाउनुका साथै गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत सुरक्षा संयन्त्रसित भर्जुअल बैठकबाट विपद् प्रतिकार्यको पूर्वतयारीमा चनाखो हुन निर्देश गरेको छ ।
गृह मन्त्रालयले विपद्का घटनालाई सिकाइका रूपमा लिँदै आफूसित भएका प्राविधिक जनशक्ति र उपकरणलाई समेत तयारी हालतमा राख्न र स्थानीय र प्रदेश सरकारसित समन्वय बढाउन आग्रह गरेको छ ।
बुधबार विपद् व्यवस्थापन कार्यालयको निरीक्षणका क्रममा गृहमन्त्री लेखकले जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा जुनसुकै बेला जेसुकै हुन्छ भन्ने मानसिकतामा रहन निर्देशन दिए । 'जुनसुकै बेला जेसुकै हुन सक्छ । त्यो मानसिकताका साथ बस्नुपर्छ,' उनले भने, 'मनसुनजन्य विपद्को पूर्वानुमान हुन्छ । तर, भूकम्प र आगलागीको पूर्वानुमान हुँदैन । हामी मनसुनको पूर्वसन्ध्यामा छौँ । मनसुन सक्रिय भएपछि बाढी र पहिरो आउँछ । त्यसको पूर्वतयारीमा हामी तयार रहनुपर्छ ।'
बर्खायाममा बाढी–पहिलो र डुबानको जोखिम न्यूनीकरण र व्यवस्थापनको तयारी अवस्थामा रहनुपर्नेमा उनले जोड दिए ।