
सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय, ओखलढुंगामा कार्यरत इन्जिनियर सन्तोषकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध ६ लाख ७० हजार रुपैयाँ बिगो माग दाबी गर्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार उनी सेवाग्राहीबाट घुस लिएको अवस्थामा पक्राउ परेका थिए ।
यादवले खोटाङमा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्ने प्रयोजनार्थ घुस/रिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनलाई ५ लाख ७० हजार रुपैयाँसहित पक्राउ गरेको थियो ।
अनुसन्धानका क्रममा यादवले खोटाङमा निर्माणाधीन सडकको पाँचौं रनिङ बिल स्वीकृत गरी भुक्तानी प्रक्रियासम्बन्धी काम अघि बढाइदिए बापत सेवाग्राहीसँग २०८१ चैत ८ गते १ लाख रुपैयाँ लिएको पाइएको थियो ।
यस्तै पुनः छैटौं रनिङ बिल भुक्तानीको लागि २०८२ जेठ १ गते ५ लाख ७० हजार रुपैयाँ गरी जम्मा ६ लाख ७० हजार रुपैयाँ लिएको पाइएको आयोगको दाबी छ ।
आयोगले यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा ६ लाख ७० हजार रुपैयाँ बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवानाको माग दाबी गरेको छ ।