१६ असार २०८३, मंगलबार

५ लाख ७० हजार घुससहित पक्राउ परेका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जेठ २२, २०८२
काठमाडौं
५ लाख ७० हजार घुससहित पक्राउ परेका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय, ओखलढुंगामा कार्यरत इन्जिनियर सन्तोषकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध ६ लाख ७० हजार रुपैयाँ बिगो माग दाबी गर्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार उनी सेवाग्राहीबाट घुस लिएको अवस्थामा पक्राउ परेका थिए ।

यादवले खोटाङमा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्ने प्रयोजनार्थ घुस/रिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनलाई ५ लाख ७० हजार रुपैयाँसहित पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा यादवले खोटाङमा निर्माणाधीन सडकको पाँचौं रनिङ बिल स्वीकृत गरी भुक्तानी प्रक्रियासम्बन्धी काम अघि बढाइदिए बापत सेवाग्राहीसँग २०८१ चैत ८ गते १ लाख रुपैयाँ लिएको पाइएको थियो । 

यस्तै पुनः छैटौं रनिङ बिल भुक्तानीको लागि २०८२ जेठ १ गते ५ लाख ७० हजार रुपैयाँ गरी जम्मा ६ लाख ७० हजार रुपैयाँ लिएको पाइएको आयोगको दाबी छ ।

आयोगले यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा ६ लाख ७० हजार रुपैयाँ बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवानाको माग दाबी गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्