
सरकारले प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घ (आईयूसीएन)को दक्षिण तथा पूर्वी एसियाका लागि क्षेत्रीय काउन्सिलर पदमा रोशनी अधिकारी पाठकलाई समर्थन गर्न यसका राष्ट्रहरू र काठमाडौंमा रहेका सबै कूटनीतिक नियोगहरूलाई आग्रह गरेको छ।
आईयूसीएन सदस्य राष्ट्रहरू र काठमाडौंमा रहेका सबै कूटनीतिक नियोगहरूलाई पाठकको पक्षमा प्रतिवद्धता जाहेर गर्न परराष्ट्र मन्त्रालयले आग्रह गरेको हो ।
दक्षिण तथा पूर्वी एसियाबाट पाँच जनाका लागि उक्त पदमा सात जनाको उम्मेदवारी परेको छ ।
मन्त्रालयले पठाएको पत्रमा आगामी आईयूसीएन विश्व संरक्षण महाधिवेशन २०२५ मा निर्वाचन हुने जानकारी गराइएको छ। यो महाधिवेशन अक्टोबर २ देखि १५, २०२५ सम्म संयुक्त अरब इमिरेट्सको अबुधाबीमा आयोजना हुनेछ।
मन्त्रालयद्वारा जारी आग्रह पत्रमा भनिएको छ, ‘पाठक एक उच्च अनुभवी संरक्षणविद् हुन्, जसलाई दक्षिण र दक्षिणपूर्वी एसियाभर जैविक विविधता र वातावरण शासनसम्बन्धी गहिरो बुझाइ छ। यसकारण, उनले यस क्षेत्रको प्रभावकारी प्रतिनिधित्व गर्न क्षमता राख्छिन् ।‘