
राष्ट्रपति रामचन्द्र पौडेलले भारतको अहमदाबादमा भएको विमान दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।
बिहीबार दिउँसो अहमदाबादबाट लण्डनका लागि उडेको एअर इन्डियाको जहाज विमानस्थलबाट उडेको केहीबेरमै दुर्घटनामा परेको घटनाप्रति राष्ट्रपति पौडेलले गहिरो दुःख व्यक्त गरेका हुन् ।
विमान दुर्घटनाको खबर थाहा पाएपछि आफू स्तब्ध भएको राष्ट्रपति पौडेलले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् । उनले दुर्घटनाबाट भएको अमूल्य मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
बिहीबार दिउँसो गुजरातको अहमदाबाद विमानस्थलबाट ग्याटविक (लन्डन)तर्फ उडिरहेको एअर इन्डियाको विमान उडानको केही समयमै खसेको थियो ।
विमानमा यात्रु र चालक दलका सदस्यसहित २४२ जना सवार रहेको बताइएको छ । जसमा १६९ जना भारतीय, ५३ जना बेलायती, १ जना क्यानाडेली र ७ जना पोर्चुगिज नागरिक थिए । विमानमा दुई पाइलट र १० जना चालक दलका सदस्य रहेको बताइएको छ ।