०५ साउन २०८३, मंगलबार

नेपालसँगको ‘ऐतिहासिक सिरिज’बारे वेस्ट इण्डिजले भन्यो- उदाउँदो क्रिकेट राष्ट्रप्रति समर्थन

जेठ २९, २०८२
काठमाडौं
नेपालसँगको ‘ऐतिहासिक सिरिज’बारे वेस्ट इण्डिजले भन्यो- उदाउँदो क्रिकेट राष्ट्रप्रति समर्थन

नेपालसँग तीन खेलको टी-२० सिरिजको टुंगो लागेपछि वेस्ट इण्डिज क्रिकेट बोर्डले उदाउँदो राष्ट्र नेपालप्रतिको समर्थन भनेको छ । आगामी सेप्टेम्बरमा तीन खेलको सिरिजको टुंगो लागेपछि वेस्ट इण्डिज बोर्डले क्रिकेट खेलको विकास र विश्वव्यापी विस्तारको लागि महत्त्व रहेको जनाएको हो । 

‘क्रिकेट वेस्ट इन्डिजले एसियाली राष्ट्र नेपालविरुद्धको ऐतिहासिक तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजमा भाग लिने घोषणा गरेको छ। यो दुवै टोलीबीचको पहिलो द्विपक्षीय सिरिज हो, जसले क्रिकेट खेलको विकास र विश्वव्यापी विस्तार गर्ने लक्ष्यतर्फ एक महत्त्वपूर्ण उपलब्धि हो,’ सिरिजबारे वेस्ट इण्डिज क्रिकेटले भनेको छ ।

यो सिरिज सेप्टेम्बर २७, २८ र ३०  (असोज ११, १२ र १४ गते) मा संयुक्त अरब इमिरेट्सको शारजाहमा आयोजना हुनेछ । सिरिजलाई नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्नेछ । यसले यस वर्षको अन्त्यतिर हुने आईसीसी पुरुष टी–२० विश्वकप एसिया छनोट प्रतियोगिताको तयारी गरिरहेको नेपालका लागि एक ऐतिहासिक अवसर प्रदान गरेको वेस्ट इण्डिजले बताएको छ । 

वेस्ट इण्डिज बोर्डले नेपालसँगको खेललाई लिएर सकारात्मक प्रतिक्रिया दिएको छ । ‘वेस्ट इन्डिजका लागि यो सिरिज उदाउँदो क्रिकेट राष्ट्रहरूप्रति समर्थन जनाउने र विभिन्न क्रिकेट बोर्डहरूसँग सहकार्य गर्ने आफ्नो प्रतिबद्धताको प्रतिबिम्ब हो’ बोर्डले भनेको छ ।

सो खेलमा वेस्ट इण्डिजले प्रतिस्पर्धी टोली उतार्ने पनि जनाएको छ । 

‘धेरै समृद्ध इतिहास र आक्रामक खेलशैलीका लागि परिचित वेस्ट इन्डिज टोलीले प्रतिस्पर्धात्मक टिम उतार्ने अपेक्षा गरिएको छ, जसले नेपाललाई विश्वकप छनोट अघि महत्त्वपूर्ण अन्तर्राष्ट्रिय अनुभव प्रदान गर्नेछ । यस सिरिजले खेलाडी र समर्थकहरूलाई जीवन्त, तटस्थ मैदानमा अन्तर्राष्ट्रिय क्रिकेटको भावना अनुभव गर्ने अवसर पनि दिनेछ,’ बोर्डले भनेको छ, ‘क्रिकेट वेस्ट इन्डिजले नेपाल क्रिकेट संघ र इमिरेट्स क्रिकेट बोर्डलाई सिरिजको सफल आयोजना गर्न सहयोग गरेकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि विश्वभर क्रिकेटको पहुँच र विकास विस्तार गर्न सहकार्यलाई अझ मजबुत बनाउने आशा व्यक्त गरेको छ।’

क्रिकेट वेस्ट इन्डिजका सीईओ क्रिस डेह्रिङले यो सिरिज केवल केही अन्तर्राष्ट्रिय खेलहरू मात्र नभएर क्रिकेटको विस्तार हुँदै गएको विश्वव्यापी प्रभावको उत्सव रहेको बताएका छन् । 

‘क्रिकेटले बोकेको गौरव, उद्देश्य र एकताको शक्ति– यी सबैको साक्षी हो यो अवसर । पूर्ण सदस्य राष्ट्रको हैसियतले हामी विश्वभर क्रिकेटको विकासमा योगदान पुर्‍याउनु हाम्रो जिम्मेवारी ठान्छौं’, उनले भनेका छन्, ‘नेपालको क्रिकेट यात्राको यस महत्त्वपूर्ण चरणमा साथ दिनु केवल अन्तर्राष्ट्रियस्तरसम्म खेलको विकासमा सहयोग गर्नु मात्रै होइन, यो हामीलाई आफ्नै देशको प्रतिनिधित्व गर्ने गौरव र जिम्मेवारीको पनि स्मरण गराउने क्षण हो ।’

उनले नेपालको यस ऐतिहासिक क्षणमा उभिन पाएकोमा गर्व गरिरहेको पनि बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्