
बेलायती नागरिक विश्वास कुमार रमेश भारतमा केही दिन परिवार भेट्न आएका थिए र आफ्ना दाजु अजयराम रमेशसँगै बेलायत फर्कंदै थिए ।
तर, अहमदाबादबाट बेलायत उडेको जहाज बिहीबार दिउँसो केही क्षणमै दुर्घटनामा पर्यो । चालक दलसहित २४२ जना सवार जहाजमा अहिलेसम्म जीवित भेटिएका उनी एक मात्र व्यक्ति हुन् ।
गम्भीर विमान दुर्घटनाबाट बाँचेका ४० वर्षीय विश्वास हाल अहमदाबादको सिभिल अस्पताल, असारवाको सामान्य वार्डमा उपचाररत छन्।
विश्वासले हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा भनेका छन्, ‘विमान उडेपछि करिब ३० सेकेन्डमै ठूलो आवाज आयो र त्यसपछि विमान खस्यो । सबै कुरा एक्कासी भयो ।’
उनको छाती, आँखा र खुट्टामा ‘इम्प्याक्ट इन्जुरी’ अर्थात् ठोक्किएर लागेको चोट देखिएको छ ।

ग्याटविकतर्फ जाँदै गरेको एयर इन्डियाको उक्त फ्लाइट-बोइङ ७८७–८ ड्रीमलाइनर—बिहीबार दिउँसो १:३९ बजे अहमदाबाद विमानस्थलबाट उडेको थियो । उडेको केहीबेरमै विमान दुर्घटनाग्रस्त भई आगोको लप्कामा परेको थियो ।
अहिले दर्जनौं आफन्तहरू आफ्ना हराइरहेका परिवारजनको खोजीमा अस्पताल परिसरमा भेला भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार २०४ जनाको शव भेटिइसकेको छ ।
यो दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रूपानीको पनि मृत्यु भएको छ ।