१२ साउन २०८३, मंगलबार
मन्त्री हाङगाम फेरि विवादमा

कोशीका मन्त्रीले हाने नेकपा एसका नेतालाई मुक्का, अझै कुट्छु भन्दै फोनमा धम्की

मिलापत्र गर्न कांग्रेस नेताहरूको दबाब, जाहेरी दिने थेबेको तयारी
असार ५, २०८२
विराटनगर
कोशीका मन्त्रीले हाने नेकपा एसका नेतालाई मुक्का, अझै कुट्छु भन्दै फोनमा धम्की

कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगामले गृह जिल्ला ताप्लेजुङमा पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेमाथि मुक्का प्रहार गरेका छन् । 

मंगलबार हाङगामको गृह जिल्ला ताप्लेजुङको सदरमुकाम फुङलिङमा मन्त्रीले आफूलाई दुईपटक मुक्का प्रहार गरेको थेबेले बताए ।

‘म कफी खाएर घरतिर जाँदै थिएँ । उहाँ मदिरा सेवन गरेर आउनुभएको रहेछ । अनि २०८४ मा मसँग चुनाव लड्ने भन्दै हिँड्दै छौं रे भन्नुभयो । तपाईंलाई कसले भन्यो ? भन्ने मान्छे ल्याउनुहोस् भनेपछि उहाँले तलाईं तँ तेस्रो मान्छे चाहिन्छ भन्दै मुक्का प्रहार गर्नुभयो,’ थेबेले भने । आफूले हेलमेट लगाएकाले कुनै चोटपटक नलागेको उनको भनाइ छ ।

हाल कांग्रेसका नेताहरूले मिल्नुपर्छ भनेर दबाब दिएको थेबेले बताए । ‘कांग्रेस संसदीय दलका नेता उद्धव थापाले फोन गरेर अहिले कतै उजुरी नदिनुस्, पहिला बसेर छलफल गरौं भनेर भन्नुभएको छ,’ उनले भने । 

पूर्वमुख्यमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता थापाले भने आफूले मन्त्रीजीले हातपात गरेको भन्ने सुनेको बताए । ‘मैले के हो भनेर मन्त्रीसँग बुझ्दा पर्सि विराटनगरमा आएर भन्ने जवाफ मात्रै दिनुभएको छ,’ उनले भने । 

मन्त्री हाङगामसँग फोन सम्पर्क गर्दा उनले उठाएनन् ।  यता, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले हातपात भयो रे भन्ने मात्रै सुनेको बताए । उनले कुनै उजुरी नआएका कारण थप जानकारी नभएको जवाफ दिए।

थेबे नेकपा एसका प्रदेश कमिटीका सदस्य हुन्  । मन्त्री हाङगामले भने अझै पिट्ने भन्दै फोनमा धम्काएको नेकपा एसका नेताहरू बताउँछन् । ‘केन्द्रमा गृहमन्त्रीको ५० करोडको कुरा आएकै छ,’ नेकपा एस कोशी प्रदेश कमिटीका उपमहासचिवसमेत रहेका जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङलामाले भने, ‘उहाँले अहिले पनि धम्काइरहनुभएको छ । अब पार्टीसँग कुरा गरेर दिउँसोसम्म किटानी जाहेरी दिन्छौं।’

कांग्रेसका नेताहरूले भने पर्सि विराटनगरमै बसेर यो घटना मिलाउन दबाब दिएको एसका नेताहरूले बताएका छन् । हाङगाम ताप्लेजुङ प्रदेश निर्वाचन क्षेत्र (२) बाट निर्वाचित नेपाली कांग्रेसका सांसद हुन् । उनी यसअघि पनि बारम्बार विवादमा तानिएका थिए ।

२०८० भदौ २२ गते ताप्लेजुङको मिनी महोत्सवको विवादमा सांसद हाङगामले तत्कालीन जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (डीएसपी) राजन लिम्बूलाई ज्यान मार्ने धम्की नै दिएका थिए । उनले प्रहरीको हात हतियार खोसेको आरोपसमेत लागेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्