
‘सावित्री देवी स्मृति प्रतिष्ठान’ले समाजमा योगदान पुर्याएका विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको छ । स्व सावित्री देवी न्यौपानेको १४औँ स्मृति दिवसको अवसर पारेर विभिन्न व्यक्तिहरू सम्मानित भएका हुन् ।
बुधबार काभ्रेपलाञ्चोकको पनौतीमा स्वास्थ्य स्वयंसेविका मनकुमारी लामा, अनिस्मा तामाङ, डा. आशिष लामिछाने र सहकारी अभियन्ता भरतप्रसाद शर्मा सम्मानित भएका हुन् । स्वास्थ्य स्यंसेविका लामा र तामाङलाई १० हजार, अभियन्ता शर्मालाई २५ हजार र डा. लामिछानेलाई २५ हजार नगदसहित सम्मान गरिएको हो ।
माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले दोसल्ला र नगदसहित सबैलाई सम्मानित गरेकी थिइन् । जेष्ठ नागरिकको उपस्थितिमा भएको कार्यक्रममा अध्यक्ष कोइरालाले समाजमा लागुऔषधको समस्या बढिरहेको बताइन् । उनले अहिले डिस्को, बार र क्लबमा अवाञ्छित गतिविधि भएकाले त्यहाँ निगरानी बढाउन सरकारको ध्यानाकर्षण गराइन् ।
१३ देखि १९ वर्षसम्मका बालबालिकामा यस्तो लत देखिएको र लागुऔषध बिक्री हुनु राम्रो कुरा नभएको उनको भनाइ थियो ।
कार्यक्रममा डा.राजेन्द्र कोजू, नेपाली कांग्रेसका नेता मधुप्रसाद आचार्य, युवा अभियन्ता भूषण श्रेष्ठलगायतले प्रतिष्ठानले खेलेको भूमिकाको बारेमा चर्चा गरेका थिए । प्रतिष्ठानले खोपासीका जेष्ठ नागरिकका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
अभियन्ता श्रेष्ठले २५ हजार नगद सहयोग गरेका छन् । प्रतिष्ठानको कार्यक्रममा प्रतिष्ठानका आजिवन सदस्य, परिवारका सदस्य, जेष्ठ नागरिक, सञ्चारकर्मीको उपस्थिति रहेको थियो । कार्यक्रममा पनौती ११ का वडाअध्यक्ष विपिन लामा, नेपाली सेनाका श्री मेहर गणका गणपति, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्वअध्यक्ष लगायतको उपस्थिति थियो ।