धनुषामा बाली जोगाउन खेतमा जडान गरिएको विद्युतीय तारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मिथिला नगरपालिका–१ ढल्केबरका ५० वर्षीया मंगलीदेवी महतोको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।
कार्यालयका प्रहरी निरीक्षक जटाशङ्कर यादवका अनुसार मंगलीदेवीले तरकारीबारीमा काम गर्ने क्रममा खेतमा जडान गरिएको तारमा छोएपछि उनको घटनास्थलमै मृत्यु भएको हो ।
‘केही किसानले जङ्गली जनावरबाट तरकारी तथा अन्य बाली बचाउन विद्युतीय तार तानेर करेन्ट प्रवाह गरी बाली सुरक्षा गर्दै आएका छन् । मंगलीदेवीले पनि सोही तार छोएपछि करेन्ट लागेको हो’, उनले भने ।
महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको जनाउँदै घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरी प्रवक्ता वरुण सिंहले बताए ।