
त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको निर्णायक खेलमा नेपाल घरेलु टोली स्कटल्याण्डसँग ३४ रनले पराजित भएको छ । नेपालले जितका लागि एक सय ९४ रनको लक्ष्य पाएकामा १८ दशमलव ५ ओभरमै १५९ रन बनाएर अलआउट भएको हो ।
नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ३४, रोहित पौडेलले २७, आशिफ शेखले १४ तथा भीम सार्कीले १२ रनको योगदान दिए । यसैगरी रुपेश सिंहले सर्वाधिक रन बनाएपनि टोलीलाई जिताउन सकेनन् ।
स्कटल्याण्डको टिटउट रङ्गशालामा नेपाली समयअनुसार शुक्रबार राति सम्पन्न खेलमा यसअघि टस जितेर पहिला ब्याटिङको निर्णय गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ९३ रनको योगफल बनाएको थियो ।
स्कटल्याण्डका ओपनर जर्ज मुन्सेले अर्धशतकीय पारी खेले । उनले ३९ बलमा पाँच चौका र छ छक्कासहित सर्वाधिक ७८ रन बनाए । त्यस्तै ब्रेन्डन म्याकमुलनले ३० बलमा चार चौका र एक छक्कासहित ४२ रनको योगदान गरे । यसबाहेक अलराउन्डर माइकल लिस्कले २६ र विकेटकिपर म्याथिउ क्रसले १७ रन बनाए ।
नेपालका लागि कुशल भुर्तेलले दुई विकेट लिए भने रुपेश सिंह, सन्दीप लामिछाने र ललित राजवंशीले समान एक–एक विकेट हात पारे । हारसँगै खेलबाट रिसिज जित्ने नेपालको सपना चकनाचुर भएको छ । आजको खेलमा विजयी स्कटल्यान्डले नै सिरिज जितेको छ ।