
चितवनमा बस र माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु भएको छ। १८ जना घाइते भएका छन् ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका– ३ स्थित खहरे पुलमा यात्रुवाहक बस र माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु भएका मध्ये दुई जनाको पहिचान खुलेको छ ।
मकवानपुर हटिया-३ का ५५ वर्षका सोमप्रसाद रुपाखेती र हेटौंडा उपमहानगरपालिका-५ का ५३ वर्षीया मैयाकुमारी न्यौपानेको सनाखत भएको प्रहरीले जनाएको छ ।
अन्दाजी ३०/३५ की एक गर्भवती महिलाको पनि उपचारको क्रममा मृत्यु भएको छ ।
चितवनका प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको प्रदेश १-०१-००१ ख ३५८३ नम्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ गइरहेको बागमती प्रदेश ०३-००१ ज २९९ नम्बरको विद्युतीय सवारी साधन एक आपसमा ठोक्किएका हुन् ।
घाइतेहरूको चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।