
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले आफ्नो श्रीमती विष्णु भुजेललाई विना प्रतिस्पर्धा करारमा अधिकृत तहको जागिर खुवाएको पाइको छ ।
सचिव देवकोटाको निर्देशनमा थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालको नर्सिङ क्याम्पसमा उनकी श्रीमतीलाई प्रशिक्षकको जागिर खुवाएको पाइएको हो ।
भ्याकेन्सी नै आह्वान नगरी भित्रभित्रै सचिव देवकोटाले श्रीमतीलाई नर्सिङ प्रशिक्षकको रूपमा जागिर खुवाएको स्रोतको दाबी छ ।
‘स्वास्थ्य सचिव देवकोटाको मौखिक निर्देशनमा उहाँकी श्रीमती विष्णु भुजेललाई २०८२ जेठ १ गते अधिकृत सातौं तहको नर्सिङ प्रशिक्षकको रूपमा नियुक्ति दिइएको हो,’ परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालका एक कर्मचारीले लोकान्तरसँग भने, ‘न विज्ञापन खुलाइयो, न त कुनै प्रतिस्पर्धा नै गराइयो । सचिवज्यूको मौखिक आदेशमा अधिकृत तहको जागिर दिइएको छ ।’
परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालको नर्सिङ क्याम्पसकी सूचना अधिकारी रानु थापाले पनि स्वास्थ्य सचिव देवकोटाकी श्रीमती भुजेलको नियुक्ति भएको पुष्टि गरिन् ।
‘उहाँलाई स्वास्थ्य सचिवको श्रीमती भएकै कारण वा स्वास्थ्य सचिवज्यूको निर्देशनबमोजिम नियुक्ति दिएको आरोप सत्य होइन,’ थापाले लोकान्तरसँग भनिन्, ‘हामीले पहिला पनि भ्याकेन्सी नखुलाई अन्तर्वार्ता लिएर तथा माइक्रो टिचिङ विधिबाट करारमा छनोट गर्ने गरेका छौं । त्यसरी नै स्वास्थ्य सचिवज्यूको श्रीमतीलाई पनि अन्तर्वार्ता र माइक्रो टिचिङ विधिबाटै छनोट गरिएको हो ।’
स्वास्थ्य सचिवको श्रीमती भएकै कारणले नियुक्ति दिइएको भन्ने आरोप गलत रहेको उनले बताइन् ।
‘अहिले उहाँको करार अवधि असार मसान्तसम्मका लागि मात्र हो । करार अवधि सकिएपछि पुनः अर्को वर्षका लागि नवीकरण होला,’ उनले थपिन्, ‘भुजेललाई फुलटाइम टिचरको रूपमा नै नियुक्ति गरिएको हो ।’
यता, स्वास्थ्य सचिव देवकोटाले पनि श्रीमतीले जागिर खाएको स्वीकारे । प्रसुती अस्पतालको प्रक्रियाबमोजिम नै छनोट भएको उनको जिकिर छ ।
‘उहाँले प्रसुती अस्पतालको जे प्रक्रिया छ, त्यो प्रक्रिया पूरा गरेर नै जागिर खानुभएको हो,’ स्वास्थ्य सचिव देवकोटाले लोकान्तरसँग भने, ‘त्यो जागिर पनि करारको हो । उहाँले पहिला पनि अरू ठाउँमा जागिर गरि नै रहनुभएको थियो । परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा पनि नियुक्ति खाँदा कुनै विधि र प्रक्रिया मिचिएको छैन ।’