०७ असार २०८३, आइतबार

पाँच महानगरले बजेट ल्याए, काठमाडौं हेरेको हेर्‍यै !

असार ११, २०८२
काठमाडौं
पाँच महानगरले बजेट ल्याए, काठमाडौं हेरेको हेर्‍यै !

संवैधानिक प्रावधानअनुसार सङ्घीय सरकारले हरेक वर्षको जेठ १५ गते बजेट ल्याउने गरेको छ । यस्तै, प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गते बजेट प्रस्तुत गर्ने प्रावधान छ ।

स्थानीय सरकार सञ्चालन ऐन र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले हरेक वर्षको असार १० गतेभित्र आगामी आवको बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार मङ्गलबार अधिकांश स्थानीय तहले आगामी आवका लागि वार्षिक बजेट पेस गरेका छन् । केहीले निर्धारित मितिभन्दा अघि नै बजेट प्रस्तुत गरेका थिए ।

केही स्थानीय तहमा आन्तरिक विवादका कारण बजेट रोकिएको छ भने केहीमा प्राविधिक कारण देखाइएको छ । कूल छ वटा महानगरमध्ये काठमाडौं महानगरको बजेट तोकिएको समयमा प्रस्तुत हुन सकेन ।

विराटनगर, वीरगञ्ज, ललितपुर, भरतपुर र पोखरा महानगरले बजेट प्रस्तुत गरिसक्दा सङ्घीय राजधानी रहेको काठमाडौं महानगरले भने आन्तरिक विवादका कारण समयसीमाभित्र प्रस्तुत गर्न सकेन ।

सङ्घीय सरकारका केही मन्त्रालयको भन्दा बढी बजेट चलाउने काठमाडौं महानगरको बजेटबारे आम चासो रहने गरेको छ । तर, समयमै बजेट नआउँदा काठमाडौंका जनताको पर्खाइ लिम्बिएको छ । उनीहरू बजेटको प्रतिक्षा गरिरहेका छन् । 

काठमाडौं महानगरको नगरसभा लामो समयदेखि बस्न सकेको छैन । नगरसभा बस्न नसकेको र बजेट प्रस्तुत हुन नसकेको सन्दर्भमा महानगरको तर्फबाट कुनै पनि आधिकारिक धारणा सार्वजनिक हुन सकेको छैन । 

महानगरको नीति तथा कार्यक्रम र बजेटबारे सम्बद्ध पदाधिकारीबीच छलफल हुन सकेको छैन । 

salt training

कमेन्ट गर्नुहोस्