
कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट पैदलयात्रा काठमाडौं आएका भ्रष्टाचार विरोधी अभियन्ता नवराज बोहराले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग भेट गरेका छन् ।
भेटघाटका क्रममा नेता कोइरालाले आफू सुशासन र ‘क्याम्पेन फर क्लिन पोलिटिक्स’को पक्षमा रहेको बताए । उनले बोहराको अभियानमा आफ्नो पूर्ण साथ रहने प्रतिबद्धतासमेत जनाए ।
बोहराले यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरिसकेका छन् ।

कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र पशु संरक्षणलगायत मुद्दा उठाएर गत जेठ ४ गतेदेखि यात्रा शुरू गरेका बोहरा ३१औँ दिनमा असार ३ गते काठमाडौं आइपुगेका थिए ।