
काठमाडौं, २१ मंसिर — अमेरिकाको दक्षिण क्यालिफोर्नियाको जंगलमा भीषण डढेलो लागेपछि ६५ हजार एकड क्षेत्र तहसनहस भएको छ । दुई दिनदेखि आगो लगिरहेका कारण राज्यमा संकटकाल घोषणा गरिएको छ ।
यस क्षेत्रबाट डेढ लाख मानिस हटाइएका छन् । एक हजार अग्निनियन्त्रकहरू आगो निभाउन व्यस्त छन् ।
आगोका कारण हजारौं घरमा क्षति पुगेको छ । एकसय ६० भवन पूरै नष्ट भएका छन् । पैैतालीस हजार घरमा बिजुली छैन ।
कुल पाँच इलाकामा आगो लागेको छ । भेन्तुरामा लुटपाट रोक्नका लागि कर्फ्यु लगाइएको छ ।
डढेलोको धूँवा ८०० किलोमिटर परसम्म देखिन्छ ।
पानी पर्ने कुनै लक्षण नदेखिएको र ५५ किलोमिटर प्रतिघन्टाको गतिमा हावा चलिरहेकोले आगो फैलिँदो छ ।
मानिसहरू सुरक्षित ठाउँतिर गइरहेका छन् । सबभन्दा भीषण डढेलो थमस भन्ने ठाउँमा लागेको छ ।
यसै वर्ष मात्र क्यालिफोर्नियामा तीनवटा भीषण आगलागी भइसकेका छन् ।
एजेन्सी