
नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले पार्टीमा करेक्सन आवश्यक रहेको बताएकी छिन् । उनले अध्यक्ष माधवकुमार नेपालमाथि उठेको संवैधानिक र कानूनी समस्याबारे अर्ली महाधिवेशन गरेर समाधान खोज्नुपर्ने बताइन् ।
नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपाल लुम्बिनी र रुपन्देहीको संयुक्त भेलालाई शनिबार रुपन्देहीको तिलोत्तमामा सम्बोधन गर्दै उनले नेतृत्वमा एउटै व्यक्ति भइरहँदा ‘मास फ्रस्टेशन’ भएको समेत बताइन् ।
पार्टीलाई करेक्सन नगर्दा असन्तुष्टिहरू बढ्दै जाने र अराजकहरूको हातमा राजनीति पुग्ने उनको भनाइ छ ।
उनले सत्तामा जाने र फर्कने क्रम जारी रहेको बताउँदै अब जिम्मेवारी राजनीति आवश्यक रहेको बताइन् । ‘आम रूपमा अराजकता छ, पुराना नेता र सिस्टमलाई गलत देखाएर पञ्चायतका प्रेतआत्माहरू जागेर व्यवस्थाका विरुद्ध बोलेका छन्, अब सोच्नुपर्दैन,’ उनले भनिन् ।
उनले पुनर्उत्थानवादी शक्तिहरूले खुलेआम गणतन्त्रका विरुद्ध बोल्ने अवस्था किन आयो भनेर दलहरू र राजनीतिज्ञहरूले करेक्सन गर्नुपर्ने बेला आएको बताइन् ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश अध्यक्ष अब्लुदहुसेन खाँन, पोलिटब्यूरो सदस्य तथा रुपन्देही इन्चार्ज नन्दलाल बन्जाडे, पार्टी रुपन्देही अध्यक्ष हिराध्वज शाह, लुम्बिनी महासचिव नारायण शर्मालगायतले बोलेका थिए ।
भेलाका अवसरमा विभिन्न पार्टी परित्याग गरेकाहरूलाई उपमहासचिव चौधरीले स्वागत गरेको युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष कृष्ण थापाले जानकारी दिए ।
भेलाले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।