०६ साउन २०८३, बुधबार
निजामती विधेयकमा छेडखानी

विधेयकमा किर्ते गम्भीर प्रकृतिको अपराध हो, छानबिन गरेर मात्र सच्याउनु पर्छ– माओवादी

असार १७, २०८२
काठमाडौं
विधेयकमा किर्ते गम्भीर प्रकृतिको अपराध हो, छानबिन गरेर मात्र सच्याउनु पर्छ– माओवादी

नेकपा (माओवादी केन्द्र)ले समितिमा एउटा कुरा पारित गरेर विधेयकमा अर्को कुरा लेखिनु गम्भीर प्रकृतिको अपराध भन्दै छानबिनको माग गरेको छ । 

राज्य व्यवस्था समितिका सदस्य र अन्य सांसदहरूले मंगलवार सभामुख देवराज घिमिरेसँग गरेको भेटमा माओवादीले विधेयकमा भएको छेडखानीबारे पहिला छानबिन गर्नुपर्ने माग गरेको हो । 

सभामुखसँगको छलफलपछि माओवादी उपमहासचिव जनार्दन शर्माले विधेयकमा गरिएको किर्ते नियतबस भएकोले यसको छानबिन गर्नुपर्ने बताएका हुन् । 

‘राज्य व्यवस्था समितिले एकथरि विषय पारित गरेर अर्कोथरि प्रतिवेदन बनायो । यसमा सरासरी र नियतबस गलत काम भएको छ । सभापतिले मेरो जानकारीबिना भयो भन्नुभएको छ सचिवले स्वाभाविक भयो भन्नुभएको छ’ शर्माले भने, ‘संसद्को उपहास गर्ने जुन षड्यन्त्र गरियो, यसको छानबिन हुनुपर्छ । सचिव, सभापति या समितिले जिम्मेवारी लिनुपर्छ ।’

आइतवार प्रतिनिधि सभाबाट पारित संघीय निजामती विधेयकमा कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा छेडखानी गरिएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।  

उपमहासचिव शर्माले संसद्प्रति अविश्वास उत्पन्न भएकोले छानबिन गर्नुपर्ने बताए । ‘त्यो विषय सच्याउनु त पर्छ नै । गम्भीर प्रकृतिको अपराध भएकोले त्यसको छानबिन पनि हुनुपर्छ,’ शर्माले भने ।

कमेन्ट गर्नुहोस्