काठमाडौँ, ६ माघ - सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले दबाब र प्रभावमा परेर कुनै पनि निर्णय नगर्न उपत्यकाका २२ वटै नगरपालिकाका कार्यकारी प्रमुख र इन्जिनियरलाई निर्देशन दिएका छन् ।
भवन निर्माण मापदण्ड कडाइका साथ लागू गर्नेबारे मन्त्रालयले आज यहाँ आयोजना गरेको उपत्यकाका २२ वटै नगरपालिकाका कार्यकारी प्रमुख र इन्जिनियरसँगको छलफलमा उनले भवन निर्माण मापदण्डलाई वैज्ञानिक र व्यवस्थित गरिनुपर्ने बताउँदै मापदण्ड लागू गर्ने सन्दर्भमा कुनै सम्झौता नगर्न निर्देशन दिए ।
जनदबाब मात्र मुख्य विषयवस्तु भएको बताउँदै उनले भने , “नियममा लेखिएको, कानुनमा भएको विषयमात्र दबाब हो, राजनीतिक दबाब थेग्न सक्नुभएन भने देश बन्दैन ।”
“नियम पालना गराउने सरकारी निकायले नै आफ्नो भवन नक्सापास नगरी बनाइरहेका त छैनन् ?”– प्रश्न गर्दै उनले भने , “हामी अरुलाई नियम पालना गर्नुपर्छ भन्ने तर आफैँ नियम पालना नगर्ने ? नगर क्षेत्रभित्र मापदण्ड पालना नगरी संरचना निर्माण गर्ने कार्यालयलाई आजै पत्र लेख्नुस् ।”
मन्त्री पाण्डेले नगरपालिकाहरुले आफ्ना नगर क्षेत्रभित्रका सम्पूर्ण विषयको तथ्याङ्क चुस्तदुरुस्त राख्नुपर्ने बताए । कागजको संरचना र कार्यक्षेत्रमा निर्माण भएको संरचना फरक÷फरक परेको पाइएको उल्लेख गर्दै उनले निरीक्षण, अनुगमन र अवलोकनलाई तीव्रता दिइनुपर्ने बताए । नगरपालिकाका प्रमुखले कार्ययोजना बनाएर आफ्नो नगर क्षेत्रको निरीक्षण भ्रमण गर्नुपर्ने उनको भनाइ थियो ।
प्रविधिको प्रयोग गरेर छिटोभन्दा छिटो जनताको काम सम्पन्न गर्न निर्देशन दिँदै उहाँले आफ्नो नगरपालिका क्षेत्रभित्र प्रविधिको प्रयोगलाई व्यापक बनाइनुपर्ने बताए ।
नगरपालिकाका कार्यालयबाट जनताले सेवा पाउन झन्झट व्यहोर्दै आएको पाइएको भन्दै उनले सेवा प्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउन आफ्नो नगरपालिका कार्यालयमा ‘चुस्तता, पारदर्शीता र विनम्रता’ लाई लागू गर्न निर्देशन दिए । सार्वजनिक सम्पत्तिको संरक्षण र संवद्र्धनमा पनि ध्यान दिन उनले आग्रह गरे ।