
युक्रेनको राजधानी कीभमा बुधबार राति रूसी सेनाले गरेको ठूलो स्तरको ड्रोन र मिसाइल आक्रमणमा कम्तीमा २ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले आक्रमणपछि सार्वजनिक बयान दिँदै यसबारे जानकारी दिएका हुन् ।
उनका अनुसार कीभलाई केन्द्रविन्दु बनाएर गरिएको आक्रमणमा १८ वटा मिसाइल र करिब ४ सय ड्रोन प्रयोग गरिएको थियो ।
कीभको केन्द्रस्थित शेभचेनकिभ्स्की जिल्लामा एक आवासीय भवनको छतमा ड्रोनको टुक्रा खस्दा आगलागी भएको र शहरका विभिन्न भागमा आगो फैलिएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।
तीन घण्टासम्म लगातार चलेको यो हवाई आक्रमणले शहरबासीको निद्रा भंग गर्यो । आकाशमा पड्किएका विस्फोटका दृश्यहरू सामाजिक सञ्जालमा देखा परेका छन्, यद्यपि ती प्रमाणित भइसकेका छैनन् ।
यसअघि मंगलबार राति युक्रेनले सन् २०२२ को फेब्रुअरीमा शुरू भएको युद्धयताकै सबैभन्दा ठूलो रूसी हवाई आक्रमण भएको बताएको थियो, जसमा ७२८ ड्रोन र १३ क्रुज वा ब्यालिस्टिक मिसाइल प्रयोग गरिएका थिए ।
बिहीबार बिहान युक्रेनी प्रहरीले कीभका आठवटा जिल्लामा रूसी ड्रोन प्रहार भएको पुष्टि गरेको छ । युक्रेनको आन्तरिक मामिला मन्त्रालयका अनुसार ६८ वर्षीया महिला र एक २२ वर्षीय प्रहरी अधिकारीको मृत्यु भएको छ ।
कीभको पोडिल्स्की क्षेत्रमा रहेको एक प्राथमिक स्वास्थ्य केन्द्र झन्डै पूर्ण रूपमा ध्वस्त भएको मेयर भिटाली क्लिच्कोले जानकारी दिएका बीबीसीले लेखेको छ ।
नगरवासीहरूलाई साइरन बज्दासम्म सुरक्षित स्थानमा बस्न र घर फर्केपछि झ्याल ढोका बन्द गरी धुवाँबाट जोगिन आग्रह गरिएको छ ।
युक्रेनी वायु सेनाका अनुसार कीभ बाहेकका क्षेत्रमा पनि रूसी ड्रोन आक्रमणको सम्भावना रहेको बताइएको छ, यद्यपि अन्य क्षेत्रको क्षतिको विवरण भने खुलेको छैन ।
रूसको सेनाले यो आक्रमणबारे कुनै टिप्पणी गरेको छैन ।
यो आक्रमणले कूटनीतिक समाधानको सम्भावना झनै टाढा धकेलिएको देखिएको विश्लेषकहरूले जनाएका छन् । जर्मनीका चान्सलर फ्रेडरिक मर्जले बुधबार कूटनीतिक बाटो थाकिसकेको बताएका थिए भने क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले यसअघि त्यस्तै धारणा राखेका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति चर्को असन्तोष जनाएका छन् । उनले पत्रकारसँग भनेका छन्, ‘पुटिनले हामीलाई धेरै कुरा दिन्छन् तर ती सबै निरर्थक हुन्छन् ।’ यद्यपि, पेस्कोभले ट्रम्पको अभिव्यक्तिप्रति गम्भीर प्रतिक्रिया जनाउनु नपर्ने बताएका छन् ।