०५ साउन २०८३, मंगलबार
आव २०८२/०८३ को मौद्रिक नीति

निजी क्षेत्रलाई प्रोत्साहन गर्न गभर्नर पौडेलले मौद्रिक नीतिमा लिएका केही जोखिम

असार २७, २०८२
काठमाडौं
निजी क्षेत्रलाई प्रोत्साहन गर्न गभर्नर पौडेलले मौद्रिक नीतिमा लिएका केही जोखिम

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीतिमार्फत नेपालको अर्थतन्त्रलाई गति दिने महत्त्वाकांक्षी प्रयास गरेका छन् ।

आफ्नो कार्यकालको पहिलो मौद्रिक नीतिमार्फत उनले निजी क्षेत्रको कर्जा प्रवाहलाई प्रोत्साहन गर्ने, वित्तीय समावेशीकरणलाई विस्तार गर्ने र सरकारले बजेटमार्फत लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग गर्ने उद्देश्य लिएका छन् ।

तर, गभर्नर पौडेलले मौद्रिक नीतिमार्फत केही जोखिम पनि बहन गरेका छन् । ती जोखिमहरूले दीर्घकालीन वित्तीय स्थायित्व र बजार सन्तुलनलाई बिगार्न सक्ने चिन्ता पनि अर्थशास्त्रीहरूले गरेका छन् ।

खुकुलो मौद्रिक नीतिको रणनीति

आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा गभर्नर पौडेलले नीतिगत दरलाई ५ प्रतिशतबाट ४ दशमलव ५ प्रतिशत, बैंक दरलाई ६ दशमलव ५ प्रतिशतबाट ६ प्रतिशत र निक्षेप संकलन दरलाई ३ प्रतिशतबाट २ दशमलव ७५ प्रतिशतमा घटाए ।

यस्तै, विस्तृत मुद्राप्रदायलाई १३ प्रतिशत र निजी क्षेत्रको कर्जा वृद्धिलाई १२ प्रतिशतले विस्तार गर्ने लक्ष्य उनले राखेका छन् । उनले लिएका यस्ता कदमहरूले बजारमा तरलता बढाउने र कोभिड-१९ पछिको आर्थिक मन्दीबाट प्रभावित निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्य राखेका छन् ।

यो नीतिले विशेषगरी रियल इस्टेट र शेयर बजारलाई गति दिने प्रयास गरेको छ । निजी आवासीय घर कर्जाको सीमा २ करोडबाट ३ करोड र शेयर धितोमा आधारित मार्जिन कर्जाको एकल ग्राहक सीमा १५ करोडबाट २५ करोड बनाइएको छ ।

यी व्यवस्थाले मध्यम वर्गको घर खरिद र शेयर बजारमा लगानीलाई प्रोत्साहन गर्न सक्छ, तर मार्केटमा बबल सिर्जना हुने जोखिम पनि उत्तिकै छ ।

नेपालको रियल इस्टेट बजारले विगतमा यस्तै खुकुलो नीतिका कारण बबल र निष्क्रिय कर्जाको समस्या भोगेको इतिहास छ ।

वित्तीय समावेशीकरण र जोखिमको सन्तुलन

मौद्रिक नीतिमा कृषि, लघु, साना र मझौला उद्यम (एसएमई)लाई प्राथमिकता दिइएको छ ।

१० लाखसम्मको कर्जा प्रवाहमा स्व-मूल्याङ्कनको व्यवस्था र खाद्य स्वच्छता लोगो प्राप्त होटल तथा रेस्टुरेन्टलाई ३ करोडसम्मको कर्जालाई एसएमई कर्जामा गणना गर्ने नीतिले ग्रामीण अर्थतन्त्र र साना व्यवसायलाई टेवा पुग्ने अपेक्षा गरिएको छ ।

यस्तै, जाजरकोट र रुकुमजस्ता भूकम्प प्रभावित क्षेत्रमा कर्जा पुनरसंरचना र पुनरतालिकीकरणको सुविधाले सामाजिक र मानवीय दृष्टिकोणबाट समावेशी विकासलाई जोड दिएको छ ।

तर, यी व्यवस्थाहरूका आफ्नै जोखिम छन् । स्व-मूल्याङ्कनमा आधारित कर्जा प्रवाहले ऋणीको तिर्ने क्षमताको सही मूल्याङ्कन नहुन सक्ने सम्भावना रहन्छ ।

खाद्य स्वच्छता लोगो प्राप्त व्यवसायमा कर्जा सहजीकरणले होटल र रेस्टुरेन्ट क्षेत्रमा लगानी बढाउन सक्छ, तर पर्यटन र आतिथ्य क्षेत्रको मागमा प्रायः देखिइरहने उतार-चढावले निष्क्रिय कर्जा बढ्ने सम्भावना रहन्छ ।

शेयर बजार र रियल इस्टेटमा जोखिम

मौद्रिक नीतिमा शेयर धितोमा आधारित मार्जिन कर्जाको सीमा वृद्धि र रियल इस्टेट कर्जाको सीमा बढाउने कदमले बजारमा लगानी बढाउने लक्ष्य राखेको छ ।

तर, यी दुवै क्षेत्र नेपालको सन्दर्भमा अस्थिर र जोखिमपूर्ण मानिन्छन् । शेयर बजारमा पटक-पटक देखिने  अस्थिरताले धितोको मूल्यमा ठूलो गिरावट आउन सक्ने जोखिम उत्तिकै छ ।

यस्तै, रियल इस्टेट बजारमा बबल सिर्जना भएमा ब्याजदरमा हुने सम्भावित वृद्धि वा मागमा कमी आउँदा ऋणीहरूले कर्जा तिर्न नसक्ने अवस्था आउन सक्छ ।

नेपालको रियल इस्टेट बजारले २०६० को दशकको मध्यमा यस्तै बबलको सामना गरेको थियो, जसले बैंकहरूमा निष्क्रिय कर्जाको अनुपात बढाएको थियो ।  

गभर्नर पौडेलले यस्तो जोखिमलाई सम्बोधन गर्न सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाको प्रस्ताव राखेका छन्, जसले निष्क्रिय कर्जा र गैर-बैंकिङ सम्पत्ति व्यवस्थापनमा सहयोग गर्न सक्छ ।

तर, एसेट म्यानेजमेन्ट कम्पनीको व्यवस्था कार्यान्वयन गर्न अहिले धेरै कानूनी जटिलताहरू छन् ।

बाह्य क्षेत्रको सञ्चिति र मुद्रा व्यवस्थापन

गत वर्षको मौद्रिक नीतिले विदेशी विनिमय सञ्चितिलाई कम्तीमा ७ महिनाको आयात धान्ने स्तरमा कायम राख्ने लक्ष्य राखेको थियो । तर, चालू आर्थिक वर्षको ११ महिना बित्दा सञ्चिति १४ दशमलव ७ महिनाको आयात धान्ने अवस्थामा छ । विदेशी मुद्रा सटही सुविधालाई अमेरिकी डलर २५ सयबाट ३ हजारमा पुर्‍याउने र नन-डेलिभरेबल फरवार्डको सीमा प्राथमिक पुँजीको १५ प्रतिशत बाट २० प्रतिशतमा वृद्धि गर्ने व्यवस्थाले सञ्चितिमा दबाब पर्न सक्छ ।

नेपालको आयातमा आधारित अर्थतन्त्र र रेमिट्यान्समा निर्भर बाह्य सञ्चितिको सन्दर्भमा यस्ता कदमहरूले विदेशी मुद्रा बाहिरिने जोखिम बढाउन सक्ने विज्ञहरूको चेतावनी छ ।

यस्तै, बंगलादेश र श्रीलंकालगायतका मुलुकका मुद्रालाई परिवर्तनीय विदेशी मुद्राको सूचीमा थप्ने व्यवस्थाले क्षेत्रीय व्यापारलाई प्रोत्साहन गर्न सक्छ । तर, यसले विदेशी मुद्रा व्यवस्थापनमा थप जटिलता थप्ने सम्भावना पनि उत्तिकै देखिन्छ ।

विश्वभर नै देखिएको आर्थिक अनिश्चितता र नेपालले गर्ने सीमित निर्यातलाई ध्यानमा राख्ने हो भने गभर्नर पौडेलले मौद्रिक नीतिमार्फत व्यवस्था गरेका यी व्यवस्थाहरूले दीर्घकालीन सञ्चिति स्थायित्वमा चुनौती थप्न सक्छ ।

सन्तुलनको आवश्यकता

गभर्नर पौडेलले ल्याएको मौद्रिक नीतिले आर्थिक वृद्धि र मुद्रास्फीति नियन्त्रणबीच सन्तुलन राख्ने प्रयास गरेको छ । तर, खुकुलो मौद्रिक नीति, कर्जा विस्तार र ब्याजदर कटौतीले यी दुवै लक्ष्य एकसाथ हासिल गर्न चुनौती देखिन्छ ।

यो कदमले आयातमा निर्भर नेपाली अर्थतन्त्रमा मुद्रास्फीति दबाब बढ्न सक्छ भने उपभोक्ता मूल्य सूचकांकलाई लक्षित ५ प्रतिशतभन्दा माथि लैजान सक्छ ।

यसबाहेक, मौद्रिक नीतिमा क्रेडिट स्कोरमा आधारित कर्जा प्रवाह र डिजिटल कर्जा मार्गदर्शनमा परिमार्जन जस्ता प्रगतिशील कदमहरू पनि राखिएका छन् ।

यी व्यवस्थाहरूले वित्तीय समावेशीकरण र डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्ने प्रयास गरेका छन् । तर, यी कदमहरूको सफलता बलियो नियमन, पारदर्शी कार्यान्वयन र निष्क्रिय कर्जा निगरानीमा निर्भर रहन्छ ।

यसरी ल्याइयो असारभित्रै मौद्रिक नीति

यसअघि सामान्यतयाः साउनको पहिलो साता ल्याइने गरेको मौद्रिक नीति गभर्नर पौडेलकै जोडबलमा शुक्रवार ल्याइएको हो । नीति तयारीका लागि बुधवार र बिहीवार पटक–पटक राष्ट्र बैंकको व्यवस्थापन समिति बैठकहरू बसेका थिए । बैठकमा डेपुटी गभर्नरहरू, कार्यकारी निर्देशकहरू र नियमन विभागका प्रमुखहरू सहभागी थिए ।

गभर्नर पौडेलले साउन १ गतेदेखि बजेटसँगै नीति कार्यान्वयन होस् भन्ने उद्देश्यले शुक्रबार सञ्चालक समिति बैठक डाकेर साढे १२ बजे नीति सार्वजनिक गरेका हुन् ।

यसअघि रेवतबहादुर कार्कीको संयोजकत्वमा गठित कार्यदलको सुझावले ग्रामीण कर्जा, बैंक गाभ्ने र ग्रे लिस्टबाट हट्ने उपायहरूमा जोड दिएको थियो । साथै, गभर्नर पौडेलले रामेश्वर खनाल नेतृत्वमा गठित आर्थिक सुधार सुझाव आयोगले दिएका सुझावहरूलाई पनि मनन् गरिएको जानकारी दिए । 

मौद्रिक नीतिपछि गरिएको पत्रकार सम्मेलनमा राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले नीति छिटो आएकोजस्तो देखिएपनि राष्ट्र बैंकको टीमले लामो समयसम्म तयारी गरेको बताए ।

साथै, बजेट कार्यान्वयन हुने दिन (साउन १ गते)देखि नै मौद्रिक नीतिलाई पनि कार्यान्वयनमा लैजाने राष्ट्र बैंकको प्रयास रहेको उनले दाबी गरे ।

मौद्रिक नीति वाचन गरेपछि गभर्नर पौडेल पत्रकार सम्मेलनमा सहभागी भएनन् ।

'उहाँले मौद्रिक नीति सार्वजनिक गर्नुभयो, उहाँको कुरा आइहाल्यो । यसमा केही नीतिगत र प्राविधिक अस्पष्टता भए त्यसलाई हामीले हटाउँछौं,' प्रवक्ता पण्डितको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्