
रुपन्देहीमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।
पाल्पाको पूर्वखोला गाउँपालिका–४ घर भइ हाल बुटवल उपमहानगरपालिका–१० कालिकानगरमा बस्दै आएका ५७ वर्षीय पूर्ण श्रेष्ठको स्कुटर दुर्घटनामा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय, बुटवलका अनुसार मिर्गौला सम्बन्धी समस्या भएका श्रेष्ठ डायलाइसिस गराउन अस्पताल जाने क्रममा सोमबार बिहानै दुर्घटनामा परेका थिए ।
लु १९ प २६९७ नम्बरको स्कुटरमा अस्पताल जाँदै गरेका श्रेष्ठ कालिकानगरस्थित सर्भिसलेनमा रोकिराखेको ना २ ह ७५३ नम्बरको अटोरिक्सासँग ठोक्किएर दुर्घटनामा परेका थिए ।
प्रहरीले श्रेष्ठलाई घटनास्थलमै मृत्यु भएको अवस्थामा फेला पारी शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगेको जनाएको छ ।
प्रहरीले घटनास्थलमा स्कुटर र मृतक श्रेष्ठलाई मात्र पल्टिएको अवस्थामा फेला पारेपछि नजिकैका सीसीटीभी फुटेज हेर्दा अटोरिक्सासँग ठक्कर खाएर स्कुटर पल्टिएको भेटिएको थियो ।
त्यसपछि खोजी गर्दै जाँदा बुटवल उपमहानगरपालिका वडा नं २ मैनाबगरमा लुकाएको अवस्थामा अटोरिक्सा फेला परेको रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीले जानकारी दिए ।
यस्तै, गैंडहवामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय सूर्यपुराका अनुसार गैंडहवा गाउँपालिका–६ लोधपुरवाका २५ वर्षीय अनिलप्रसाद मौर्यको करेन्ट लागेर मृत्यु भएको हो ।
आइतबार राति आफ्नै घरको सुत्ने कोठामा रहेको टेबल पंखाको तार जोड्ने क्रममा अचानक करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।
करेन्ट लागेर गम्भीर घाइते भएका अनिललाई तत्काल उपचारका लागि भीम अस्पताल भैरहवा लगिएकोमा राति मृत्यु भएको डीएसपी कार्कीले जानकारी दिए ।