
शशीला मोटर्स प्रालिले बुटवलको तिलोत्तमा–३, ड्राइभर टोलमा निर्माण गरेको चार्जिङ स्टेशन औपचारिक रूपमा सञ्चालनमा आएको छ । १००० केभीए क्षमताको चार्जिङ स्टेशनको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले उद्घाटन गरेका हुन् ।
चार्जिङ स्टेशनको उद्घाटन गर्दै खाँणले विद्युतीय सवारी साधनको प्रयोग र त्यसको प्रवर्द्धनमा सहयोग पुग्ने कार्य हुनु सह्रानीय रहेको बताए । बुटवलमा ठूलो चार्जिङ स्टेशन निर्माण हुनु सबैको लागि गौरवको विषय भएको उनको भनाइ थियो ।
कार्यक्रममा शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले पछिल्लो समय नेपालमा विद्युतीय सवारी साधनको प्रयोग उल्लेख्य रूपमा बढे पनि सोहीअनुसार चार्जिङ सुविधा उपलब्ध नभएको बताए ।
त्यही समस्या समाधानको लागि आफूहरूले पहल गरेको उनको भनाइ थियो ।
कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले इभी सवारीलाई सफलतापूर्वक संचालन गर्न चार्जिङ स्टेशन र वर्कशप अनिवार्य रहेको बताए ।
एकैपटक १४ वटा गाडी चार्ज गर्न सकिने क्षमता रहेको यो स्टेशन हालसम्म नेपालको सबैभन्दा ठूलो चार्जिङ स्टेन भएको कम्पनीले दाबी गरेको छ । चार्जिङ स्टेशनमार्फत् इलेक्ट्रिक बस, कार, भ्यानलगायत सबै प्रकारका विद्युतीय सवारी चार्ज गर्न सकिने छ ।