
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूमाथि आक्रमण गर्ने रास्वपा समर्थकलाई क्षमादान दिने भनेपछि उनीहरूले अदालतबाट सफाइ पाएका छन् ।
बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीहरूलाई सफाइ दिने निर्णय गरेको हो । यसअघि अदालतले उनीहरूसँग एक/एक लाख रूपैयाँ धरौटी माग गरेको थियो ।
सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको विपक्षमा बहस गरेको भन्दै वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि गत माघ २ गते काठमाडौं जिल्ला अदालत परिसरमै साङ्घातिक आक्रमण भएको थियो ।
त्रिपाठीले आफूमाथि आक्रमण गर्ने ललितकुमार केसी, शीतल राई र महानन्द जैसीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेका थिए । केसी र राई अदालतले मागेको धरौटी बुझाएर थुनामुक्त भएका थिए भने जैसीले धरौटी बुझाउन नसक्दा कारागार चलान भएका थिए ।
वरिष्ठ अधिवक्ता त्रिपाठीले आफूमाथि साङ्घातिक आक्रमण गर्नेहरू अरूबाट सञ्चालित एवं परिचालित पात्र रहेको बताएका छन् । आफ्नो विवेक शक्ति भन्दा अरूबाट परिचालित व्यक्ति भएकाले आफूमाथि भएको आक्रमणलाई मन, मष्तिष्क एवं स्मृतिमा राखेर उनीहरूलाई आफूले क्षमादान दिएको त्रिपाठीले लोकान्तरलाई बताए ।
उनीहरूलाई क्षमा दिने भनेर वरिष्ठ अधिवक्ता त्रिपाठीले बकपत्र गरेपछि न्यायाधीश ढकालको इजलासले केसी, राई र जैसीलाई सफाइ दिने निर्णय गरेको हो ।