
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा मन्त्रालयका कर्मचारीबाट छेडखानी भएको बताएका छन् । उनले भाषा मिलाउने नाममा मन्त्रालयका प्रतिनिधिहरूले कुलिङ पिरियडको मर्ममै प्रहार गरिएको दाबी गरेका हुन् ।
संघीय निजामति विधेयकमा भएको त्रुटि सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिमा बुधवार खतिवडाले संघीय मामिला मन्त्रालय र कानून मन्त्रालयका कर्मचारीबाट बदमासी भएको बताएका हुन् । समितिले खतिवडासँग झण्डै २ घण्टा बयान लिएको थियो ।
‘हामीले राजनीतिक निर्णय गर्ने हो, भाषा मिलाउन भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कानून मन्त्रालयका प्रतिनिधि समितिमा आउनुभएको थियो,’ खतिवडाले बयानमा भनेका छन्, ‘मूल दफामा लेखिएको कुरालाई बाझिनेगरी अरू कुरा थपिएको हामीलाई थाहा हुने कुरा भएन ।’
समिति स्रोतका अनुसार खतिवडाले कर्मचारी प्रशासनबाटै विधेयकमा गडबडी गर्ने काम भएको बताएका थिए । ‘सांसदलाई झुक्याउनेगरी समितिले प्रतिवेदन बनाउन कसरी सक्छ ? फुल हाउसमा प्रतिवेदन पेश भएको २ हस्तासम्म संसद्मै थियो,’ खतिवडाको भनाइ उदृद्ध गर्दै समिति स्रोतले भन्यो, ‘विधेयक पारित गर्ने बेलामा पनि मैले कुलिङ पिरियडसम्बन्धी व्यवस्था राखेको कुरा भनेको थिएँ ।’
कांग्रेस सहमहामन्त्री जीवन परियार संयोजकत्वको उपसमितिले प्रतिवेदनमा हस्ताक्षर गर्ने मध्येका प्रतिनिधि सभाका सचिव सुरजकुमार दुरासँग पनि सोधपुछ गरेको छ ।
छानबिन समितिले बिहीवार विधेयकमा सहमति जुटाएको उपसमितिसँग छलफल गर्दैछ । त्यसपछि समितिका सबै सदस्यहरूसँग छलफल गर्ने तयारी गरेको छ ।
असार १५ गते पारित संघीय निजामति विधेयकबाट कुलिङ परियडयसम्बन्धी व्यवस्थामा छेडखानी गरिएको विषयमा छानबिन गर्न प्रतिनिधि सभाले छानबिन समिति बनाएको हो । विधेयक भने राष्ट्रिय सभामा विचाराधीन छ ।