२५ जेठ २०८३, सोमबार
साफ यू-२० महिला च्याम्पियनसिप

श्रीलंकालाई सजिलै हराउँदै तालिकाको पहिलो स्थानमा उक्लियो नेपाल

साउन १, २०८२
काठमाडौं
श्रीलंकालाई सजिलै हराउँदै तालिकाको पहिलो स्थानमा उक्लियो नेपाल

बंगलादेशको राजधानी ढाकामा जारी साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालले तेस्रो जीत हात पारेको छ । नेपाली टोलीले बिहीबार खेलिएको खेलमा श्रीलंकालाई ७–० गोलको फराकिलो अन्तरले हराएको हो ।

जारी प्रतियोगितामा नेपालले दोस्रो पटक श्रीलंकालाई हराएको हो । जीतसँगै नेपाल अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ । 

नेपाली टोलीको जीतमा कुसुम खतिवडा र समीक्षा मगरले दुई–दुई गोलको योगदान गरे । कुसुमले ३५ औं र ४४ औं तथा समीक्षाले ७४ औं र ७८ औं मिनेटमा गोल गरेका थिए । पूर्णिमा राईले १६ औं, सरिता कुमारी नाथले ४२ औं र बिर्सना चौधरीले ६७ औं मिनेटमा एक–एक गोल गरे ।

चार खेल खेलेको नेपालले नौ अंक बटुलेको छ । तीन खेल खेलेको आयोजक बंगलादेश नौ अंकसहित दोस्रो स्थानमा छ ।

तीन खेल खेलेको भुटान तीन अंकसहित तालिकाको तेस्रो स्थानमा छ । चारवटै खेलमा पराजित भएको श्रीलंकाको भने उपाधि जित्ने सम्भावना समाप्त भइसकेको छ । नेपाली टोलीले अघिल्लो खेलमा पनि श्रीलंकालाई ७–० गोलले नै हराएको थियो ।

तेस्रो जीतपछि नेपाली टोली उपाधि होडमा कायमै छ । नेपालले हालसम्म खेलेको चारमध्ये तीन खेलमा जीत र एक खेलमा हारको नतिजा निकालेको छ । नेपाली टोलीले आफ्नो पहिलो खेलमा भुटानलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गरेको थियो ।

नेपाली टोली आफ्नो दोस्रो खेलमा भने तुलनात्मक रूपमा बलियो प्रतिद्वन्द्वी बंगलादेशसँग २–३ गोलले पराजित भएको थियो । नेपाली टोलीले आफ्नो पाँचौं खेल शनिबार भुटानसँग खेल्नेछ । त्यसपछि आगामी सोमबार नेपाली टोलीले आफ्नो अन्तिम खेल बंगलादेशसँग खेल्नेछ ।

जारी प्रतियोगितामा चार टोली सहभागी छन् । चारवटै टोलीलाई एउटै समूहमा राखिएको छ । सहभागी सबै टोलीले एक–अर्कासँग दुई–दुई खेल खेल्नेछन् । त्यसपछि अंक तालिकाको पहिलो स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्