०४ साउन २०८३, सोमबार
सरसर्ती २४ घण्टा

बालुवाटारमा विद्या र शेखरबारे प्रधानमन्त्रीको धारणा, निकटस्थसँगको भेलामा शेखरले के भने ?

साउन ५, २०८२
काठमाडौं
बालुवाटारमा विद्या र शेखरबारे प्रधानमन्त्रीको धारणा, निकटस्थसँगको भेलामा शेखरले के भने ?

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेस नेता शेखर कोइरालाबारे चर्चा भएको छ ।

मन्त्रिपरिषद् बैठकको सुरुमै प्रधानामन्त्री ओलीले विद्या भण्डारीको राजनीतिक पुनरागमनबारे धारणा राखेका हुन् । यस्तै संसदीय दलको नेता नै परिवर्तन खेलमा कोइराला लागेको बारे पनि उनले धारणा राखे । 

एक मन्त्रीका अनुसार उनले केही नेताहरूले पूर्वराष्ट्रपतिलाई अघि बढाउन हिँडेको भए पनि त्यस्तो सम्भव नहुने बताएका थिए । उनले अब पूर्वराष्ट्रपतिको च्याप्टर नै क्लोज भएको सन्देश दिनेगरी उनले धारणा राखेको ती मन्त्रीको भनाइ छ । 

यस्तै कोइरालालाई समेत विपक्षीले उक्साइरहेको बताउँदै ओलीले आफूले शेरबहादुर देउवालाई नै सत्ता हस्तान्तरण गर्ने बताए । बैठकले केही नियमित विषयमा निर्णय गरेको बताइएको छ । 
००००
यसैबीच पूर्वराष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग समसामयिक राजनीतिबारे छलफल भएको बताएकी छिन् ।

एमाले अध्यक्ष ओलीसँग डेढ घण्टा छलफल गरेपछि भण्डारीले राष्ट्रिय राजनीतिबारे कुराकानी भएको बताएकी हुन् । 
००००
राजनीतिक सक्रियता बढाएका नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले राजनीतिक संकट समाधानका लागि आफूले पहल शुरू गरेको बताएका छन् । आफूनिकट सांसदहरूसँग आइतबार भएको छलफलमा शेखरले आफू अगाडि बढिसकेको बताएका हुन् ।


‘म अगाडि बढिसकें, हात हालिसकें, साथीहरूको सहयोग र समर्थन चाहिन्छ,’ कोइरालाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले लोकान्तरसँग भने । दरबारमार्गस्थित एक होटलमा भएको छलफलमा कोइरालाले संसदीय दलको नेता परिवर्तनका लागि पनि एटेम्ट गर्ने संकेत दिएका हुन् ।
१४ औं महाधिवेशनमा शेरबहादुर देउवासँग सभापतिमा प्रतिस्पर्धा गरेका कोइराला संसदीय दलको नेतामा भने उठेका थिएनन् । संस्थापन इतर पक्षबाट महामन्त्री गगन थापाले संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेका थिए । संसदीय दलको नेताका लागि चुनाव भएको साढे २ वर्षपछि शेखरले दलको नेताका लागि प्रयास गर्ने संकेत गरेका ती नेताले बताए । कोइराला पक्षले आफ्नो पक्षका मन्त्रीलाई फिर्ता बोलाउनेसम्मको तयारी गरेको स्रोतको दाबी छ ।
००००
नेपाल राष्ट्र बैंकले ‘भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थाका लागि लाभांश वितरणसम्बन्धी मार्गदर्शन, २०८२’  जारी गरेको छ । 
    लाभांश वितरणलाई पारदर्शी एवं व्यवस्थित बनाउने अभिप्रायका साथ उक्त मार्गदर्शन जारी गरिएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डितले जानकारी दिए ।
००००
निर्वाचन आयोगले रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ ।

आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले कार्यक्रमअनुसार असोज २४ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने, असोज २१ गते बिहान १० देखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने जानकारी दिइन् ।
००००
भुटानमा आयोजना हुने साफ यू–१७ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको सहायक प्रशिक्षकमा रितेश मल्ल नियुक्त भएका छन् ।

यस्तै, श्रीलङ्कामा हुने साफ यू–१७ पुरुष च्याम्पियनसिपका लागि रामचन्द्र थापा सहायक प्रशिक्षक र राजु सिंह गोलकिपर प्रशिक्षकका रूपमा नियुक्त भएका छन्।
००००
११ महिनापछि शेयर बजारमा २१ अर्बभन्दा बढीको कारोबार भएको छ । आइतबार शेयर बजारमा ११ महिनापछि २० अर्ब बढीको कारोबार भएको हो ।
००००
छाउगोठमा सर्पले डसेर मृत्यु भएकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ स्थित निगालीकी २८ वर्षीया कमला दमाईंको परिवारलाई कृष्णपुर नगरपालिकाले आर्थिक सहयोग प्रदान गरेको छ

नगरप्रमुख हेमराज ओझाले पालिकाको कार्यपालिकाबाट निर्णय गरी मृतक दमाईंको परिवारलाई रु ५० हजार आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिए ।
००००
भारतको निमन्त्रणामा २ दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली भदौ ३१ गते नयाँ दिल्ली जाने भएका छन् । नयाँ सरकार बनेको १४ महिनापछि प्रधानमन्त्री ओलीको भारत भ्रमण तय भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्