
नेपाली कांग्रेसका पूर्वपदाधिकारीसहितका नेता छलफलमा जुट्ने भएका छन् । यस अघिदेखि नै आलोपालो छलफल गर्दै आएका संस्थापन निकटका नेताहरूले सोमबार छलफल गर्न लागेका हुन् ।
पूर्वउपसभापति प्रकाशमान सिंहको चाक्सीबारीस्थिति घरमा सात नेताबीच छलफल हुन लागेको हो ।
छलफलमा सिंहसहित विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, गोपालमान श्रेष्ठ र डा. प्रकाशशरण महत सहभागी हुँदैछन् ।
छलफलमा समसामयिक राजनीति, पार्टीको १५ औं महाधिवेशनसहितका विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।
यस अघि पनि शीर्ष नेताहरूले आलोपालो यस्तो छलफल गर्दै आएका थिए ।
सात नेताले सभापतिको उम्मेदवार आफूहरू मध्येबाटै तय गर्न सभापति शेरबहादुर देउवालाई दबाब दिँदै आएका छन् ।