२५ जेठ २०८३, सोमबार

स्वास्थ्यमन्त्री पौडेलले सार्वजनिक गरे एक वर्षे उपलब्धि, के-के छन् दाबी ?

साउन ५, २०८२
काठमाडौं
स्वास्थ्यमन्त्री पौडेलले सार्वजनिक गरे एक वर्षे उपलब्धि, के-के छन् दाबी ?

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पदभार सम्हालेको एक वर्षमा स्वास्थ्य प्रणालीमा देखिने गरी सुधार भएको दाबी गरेका छन् ।

सोमबार एक वर्षे उपलब्धि सार्वजनिक गर्दै पौडेलले स्वास्थ्य क्षेत्रमा सेवा प्रवाह, संरचना विस्तार, रोग नियन्त्रण तथा स्वास्थ्य बीमा सुधारजस्ता क्षेत्रमा जनस्तरमै प्रभाव पर्ने काम भएको दाबी गरेका हुन् ।

अस्पताल विस्तार र सेवा सुलभता अन्तर्गत ५, १० र १५ शय्याका आधारभूत अस्पतालको निर्माणलाई प्राथमिकता दिएको उनको भनाइ छ । एक वर्षमा ११३ अस्पताल निर्माण सम्पन्न भएको, ५५ वटा सञ्चालनको तयारीमा रहेको पौडेलले जनाएका छन् । नयाँ आर्थिक वर्षमा थप २५० अस्पताल निर्माणका लागि बजेट विनियोजन गरिएको उनको भनाइ छ ।

‘निरोगी नेपाल’ अभियान र जनस्वास्थ्य पहल अन्तर्गत नसर्ने रोग पहिचानका लागि प्रत्येक फागुनलाई ‘नसर्ने रोग परीक्षण महिना’का रूपमा मनाउन थालिएको विषयलाई पनि मन्त्रालयको उपलब्धिमा राखिएको छ । 

सबै स्थानीय तहमा जनस्वास्थ्य अधिकृत खटाउने तथा ‘म स्वस्थ, मेरो समुदाय स्वस्थ’ कार्यक्रमले जनस्वास्थ्य सुदृढ पार्ने प्रयास भएको उनको उपलब्धिमा दाबी गरिएको छ ।

पाठेघरको मुखको क्यान्सर रोकथामका लागि १०–१४ वर्षका किशोरीहरूलाई लक्षित गर्दै देशभर ८७ प्रतिशत किशोरीलाई नि:शुल्क एचपीभी खोप उपलब्ध गराइको उल्लेख गरिएको छ ।

सातै प्रदेशमा जलन र मुटु रोगको नि:शुल्क सेवा विस्तार गरेर वीर, गण्डकी र मधेश प्रदेशमा सेवा शुरू भइसकेको जनाइएको छ ।

१४ वर्षमुनिका बालबालिकाका लागि क्यान्सर उपचार पूर्णरूपमा नि:शुल्क गरिएको विषयलाई स्वास्थ्य मन्त्रीले उपलब्धिमा राखेका छन् ।

स्वास्थ्य बीमा प्रणाली सुधार अन्तर्गत बीमा लागू हुने म्याद ३ महिनाबाट घटाएर १ महिना बनाइएको छ । बीमा दायरामा रहेका दीर्घरोगीहरूलाई २ लाखसम्मको सेवा प्रदान गर्ने व्यवस्था गरिएको जनाइएको छ ।

डेंगु नियन्त्रण र औषधि पहुँच, विशेषज्ञ सेवा विस्तार, अस्पताल सुधार र सेवा समय थप, स्वास्थ्य नीतिगत सुधार, हेलो स्वास्थ्य सेवा शुरूसहितका काम भएको पौडेलले जनाएका छन् ।

उनका अनुसार २०८१ मा मात्रै दर्जनौं कार्यविधि र निर्देशिका जारी गरिएको छ । जलन, क्यान्सर, आपतकालीन सेवा, डिजिटल स्वास्थ्य, विद्यार्थी स्वास्थ्य, रेबिज रोकथामलगायत नीतिगत दस्तावेज तयार पारिएका छन् ।

हेर्नुहोस् मन्त्री पौडेलले सार्वजनिक गरेका उपलब्धि :

 

salt training

कमेन्ट गर्नुहोस्