
प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगर जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमणका लागि मंगलबार हेनान प्रान्ततर्फ प्रस्थान गर्दैछन् ।
उपसभामुख राना २ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार राति ११.३० बजे चीन प्रस्थान गर्न लागेकी हुन् ।
उपसभामुख राना चीनको हेनान प्रान्तमा यही साउन ७ गते बुधबारदेखि ११ गतेसम्म आयोजना हुने सांघाई सहयोग मञ्च मिडिया र थिंक ट्याङ्क शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम छ ।
सो कार्यक्रममा उनले ‘विकासका लागि शान्तिपूर्ण र स्थिर वातावरणको सुरक्षामा नेपालको दृष्टिकोण’ विषयमा आफ्ना धारणा राख्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।
भ्रमणका क्रममा उपसभामुख रानाले हेनान प्रान्तका अधिकारीहरूसँग भेटघाट गर्नुका साथै सोही प्रान्तमा अवस्थित झेङझोउ शहरलगायत विभिन्न स्थानको अवलोकन भ्रमण समेत गर्नेछन् ।
उपसभामुख राना भ्रमण सम्पन्न साउन ११ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । उपसभामुख राना नेतृत्वको प्रतिनिधि मण्डलमा संघीय संसद् सचिवालयका उपसचिव जगदिश न्यौपानेसमेत सम्मिलित छन् ।