३२ असार २०८३, बिहीबार

लुम्बिनीमा मानव–वन्यजन्तु द्वन्द्व बढ्दो, एक वर्षमा ७ जनाको मृत्यु

साउन ७, २०८२
बुटवल
लुम्बिनीमा मानव–वन्यजन्तु द्वन्द्व बढ्दो, एक वर्षमा ७ जनाको मृत्यु

लुम्बिनी प्रदेशमा मानव र वन्यजन्तुबीचको द्वन्द्व दिन प्रतिदिन गम्भीर बन्दै गएको छ । प्रदेशका बाँके, बर्दिया र कपिलवस्तु जिल्लामा वन्यजन्तुको आक्रमणका कारण गएको एक वर्षमा ७ जनाले ज्यान गुमाएका छन् ।

प्रदेश वन निर्देशनालयका अनुसार बाँके र कपिलवस्तुमा २/२ र बर्दियामा ३ जनाको मृत्यु भएको हो । त्यस्तै, १८ जना घाइते भएका छन् । 

बाँकेमा २, बर्दियामा ७, दाङमा ३, कपिलवस्तुमा ४ र नवलपरासीमा २ जना मानिस घाइते भएका हुन् । वन्यजन्तुको आक्रमणबाट १४४ वटा पशुचौपायाको समेत ज्यान गएको छ । 

अर्घाखाँचीमा ५१, बर्दियामा ९०, दाङ र कपिलवस्तुमा जनावर मृत्युको घटना एक–एक रहेका छन् । त्यस्तै, सोही अवधिमा २३ वटा वन्यजन्तु पनि मरेको विवरण सार्वजनिक गरिएको छ ।

वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०८१\८२ को वार्षिक समीक्षा गोष्ठीमा मानव–वन्यजन्तु द्वन्द्वलाई चिन्ताजनक भन्दै दीर्घकालीन समाधानको खाँचो औंल्याइएको छ । बर्दिया डिभिजन वन कार्यालयका प्रमुख विजय राज सुवेदीले वन क्षेत्रहरू एकआपसमा नजोडिएको र मानव बस्ती बिचमा परेकाले द्वन्द्व बढिरहेको बताए । उनले वन्यजन्तुहरूलाई सुरक्षित आवागमन सुनिश्चित गर्न जंगललाई जंगलसँग जोड्नुपर्ने धारणा राखे ।

null

यस्तै, बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले वन्यजन्तुको वासस्थान खुम्चिएपछि द्वन्द्व बढेको उल्लेख गरे । उनका अनुसार निकुञ्जभित्र राजमार्ग, नहर, हाइटेन्सन लाइन जस्ता संरचनाले वासस्थानमा असर पारेको छ । 

गोष्ठीमा एकीकृत विकास र संरक्षणको नीतिलाई प्राथमिकतामा राख्दै साझा योजनाका साथ अगाडि बढ्नुपर्ने सुझावहरू आएका छन् । प्रदेश वन निर्देशनालयका निमित्त महानिर्देशक प्रभात सापकोटाका अनुसार वन व्यवस्थापनमार्फत गत वर्ष एक अर्ब ८७ करोड ३१ लाख रुपैयाँ राजस्व प्रदेश सञ्चित कोषमा जम्मा भएको छ ।

प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले वन क्षेत्रलाई सम्भावनायुक्त क्षेत्रका रूपमा पहिचान गरी प्रभावकारी योजनामार्फत् परिचालन गर्नुपर्ने बताए । 

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव डिलाराम पन्थीले आन्तरिक स्रोतमा वन क्षेत्रको योगदान उल्लेख्य रूपमा बढेको र प्रतिस्पर्धात्मक कार्य प्रणाली आवश्यक भएको धारणा राखे । त्यस्तै, मन्त्रालयका सचिव प्रमोद भट्टराईले वन, जलाधार संरक्षण, जलवायु परिवर्तन तथा मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि साझा प्रयास अपरिहार्य रहेकोमा जोड दिए ।

कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवारले वन व्यवस्थापनबाटै प्रदेश समृद्ध बनाउन सकिने बताए । उनले सम्वद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यक्रमलाई प्राथमिकतामा राखिएको जानकारी दिए । मन्त्री कलवारले सुख्खा र खडेरीका कारण वन तथा वन्यजन्तुमा पर्ने असरप्रति पनि समयमै ध्यान दिनुपर्नेमा जोड दिए ।

salt training

कमेन्ट गर्नुहोस्